काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमा फर्किएका छन्।
उनीसँगै तामाकोसी गाउँपालिकाकी पूर्व उपाध्यक्ष कल्पना भण्डारी तथा भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्ति बस्नेत पनि एमालेमा पुनः आबद्ध भएका छन्। उनीहरूलाई सोमबार बिहान आयोजित पुनर्मिलन कार्यक्रममार्फत पार्टीमा औपचारिक स्वागत गरिएको हो।
कार्यक्रममा एमाले उम्मेदवार तथा पुर्व मन्त्री पार्वत गुरुङ, पार्टी नेता तथा पुर्व मन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्यहरु रचना खड्का र श्यामकुमार बस्नेत, पार्टीका सस्थापक नेताद्वय जीतविर लामा र लालकुमार केसीलगायत जिल्लाका अगुवा नेता कार्यकर्ता सहभागी थिए ।

भण्डारी एमाले दोलखाको दुई कार्यकाल अध्यक्ष, पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य तथा पूर्व जिल्ला विकास समिति (जिविस) उपसभापति रहिसकेका नेता हुन्। पुनर्मिलन कार्यक्रममा बोल्दै उनले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजय हासिल गर्न सकिने बताए।
‘अब विभाजन र अन्तर्विरोध होइन, एकताको सन्देश लिएर जनताको घरदैलोमा पुग्नुपर्छ,’ उनले भने। आगामी निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ थियो। ‘दोलखाको विकास र स्थायित्वका लागि एमालेको जित आवश्यक छ,’ उनले उल्लेख गरे।
चार वर्षअघि एमाले विभाजनपछि भण्डारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा पोलिटब्युरो सदस्यका रूपमा सक्रिय थिए। पार्टी महाधिवेशनमा उनी घनश्याम भुसाल प्यानलबाट उपमहासचिव पदका उम्मेदवारसमेत बनेका थिए।
एमालेलाई बाइपास गर्दै माओवादीसँग मात्र सहकार्य गर्ने अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै दोलखाको ठूलो हिस्सा एकतामा नजोडिएको बताइन्छ।
तत्कालीन नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित एक पालिका प्रमुख, एक उपप्रमुख र वडाध्यक्षसहितका जनप्रतिनिधि तथा अधिकांश नेता–कार्यकर्ता पुनः एमालेसँग सहकार्यको निष्कर्षमा पुगेका छन्। काठमाडौंस्थित सम्पर्क मञ्चका पूर्व नेतृत्वले पनि भण्डारीलाई समर्थन गर्दै आएका थिए।
भण्डारीको पुनरागमनसँगै माओवादीसहितको गठबन्धनमा आबद्ध केही नेता–कार्यकर्तासमेत ‘घर फर्किने’ तयारीमा रहेको एमाले स्रोतको दाबी छ। ०४८ सालदेखि नै एमालेको गढ मानिँदै आएको दोलखामा पुनः फराकिलो जितका लागि अनुकूल वातावरण बन्दै गएको पार्टीको आन्तरिक विश्लेषण छ।
कार्यक्रममा बोल्दै भण्डारीले बदलिएको राजनीतिक परिस्थितिमा पुनः एमालेमै फर्किने निर्णय गरेको बताए। पार्टी नेताहरूले भण्डारीसहित अन्य नेताहरूको पुनरागमनले दोलखामा संगठन थप मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्। पुराना नेताहरूको अनुभव र कार्यकर्तामाझको प्रभावले आगामी चुनावी अभियानमा सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

यसअघि नै तत्कालीन युवा संघ जिल्ला सचिवसहित एक दर्जन युवा नेता एमालेमा प्रवेश गरिसकेका छन्। त्यस्तै तत्कालीन नेकपा (एकीकृत समाजवादी) निकट उद्योग व्यवसायी महासंघका उपमहासचिव प्रकाश कटुवालले पनि पार्टी परित्याग गरेका थिए। फरक पार्टीमा रहे पनि २०७९ सालको स्थानीय तह निर्वाचनदेखि नै उनले एमालेलाई सहयोग गर्दै आएका थिए।
.jpg)


