काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा)को घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
बुधबार बिहान अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जानकारी साम्बाले दिएकी छन्।
खाडी क्षेत्रमा हालको असहज अवस्थाका कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि चिकित्सककै सल्लाहमा न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञमार्फत शल्यक्रिया गरिएको हो।
शल्यक्रियापछि अब उनी त्यहीँका चिकित्सकको निगरानीमा पुनर्स्थापन प्रक्रिया सुरु गर्नेछिन्। स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि पुनः एस्पेटारमै रिह्याबलाई निरन्तरता दिने योजना रहेको उनले उल्लेख गरेकी छन्।
यस कठिन समयमा वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदायप्रति उनले विशेष धन्यवाद व्यक्त गरेकी छन्। साथै आफ्नो क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टिमले शल्यक्रियाको व्यवस्था मिलाउन ठूलो सहयोग गरेको बताएकी छन्।
समर्थकहरूको साथ र मायाबाट प्रेरित हुँदै साम्बाले अब पूर्ण रूपमा पुनरागमनमा केन्द्रित हुने बताएकी छन्।


