आइतबार, कार्तिक १६ गते २०८३
images
images

चितवनमा ठूलो लडाइँ र टक्कर हुन लागेको छ : प्रचण्ड

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 495
    SHARES
  • चितवनमा ठूलो लडाइँ र टक्कर हुन लागेको छ : प्रचण्ड

    कात्तिक १२ चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा ठूलो लडाइँ र टक्कर हुन लागेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले चितवन राजनीतिक कुरुक्षेत्र बन्न लागेको बताए ।

    images

    एमालेले चितवनमा १०औँ महाधिवेशन गर्न लागेपछि प्रचण्ड एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका हुन् । ओली मानसिक रूपले हारिसकेको भन्दै उनले आफूलाई नै ताकेर चितवनमा महाधिवेशन गर्न लागेको बताए । यद्यपि एमालेले चितवनमा महाधिवेशन गर्दा आफूलाई फाइदा नै भएको उनले बताए । 

    ‘देशभरिको ध्यान चितवनमै छ । देशबाहिरका मान्छेको ध्यान पनि विस्तारै चितवनमै केन्द्रित हुँदै छ’, उनले भने, ‘चितवनमा चुनाव मात्रै हुनेवाला छैन । यहाँ ठूलो लडाइँ हुनेवाला छ । ठूलो टक्कर हुुँदै छ ।’ अबको संघर्ष दुईवटा वर्ग र विचारबीचमा लडाइँ भएको उनले बताए । 

    images

    ओली प्रवृत्तिमा हिजोका राजामहाराजा र तिनका आसेपासेदेखि लिएर संघीय गणतन्त्रलाई मन नपराएका विदेशी प्रतिक्रियावादी रहेको उनले आरोप लगाए । त्यस्तो प्रवृत्तिविरुद्ध नेपाली जनता र त्यसको नेतृत्व गर्ने माओवादी केन्द्र लड्न लागेको उनले बताए । 

    ‘यतिबेला यसरी नेपाली राजनीति दुई कित्तामा विभाजित छ । दुई कित्ताबीचको लडाइँको केन्द्रबिन्दु चितवन हुने खतरा भनुँ वा गौरव प्राप्त हुँदै छ’, उनले भने, ‘जनताले जित्ने हो कि वैरीले जित्ने हो भन्नेको फैसला चितवनको लडाइँमा देखिनेवाला छ ।’

    माओवादी केन्द्र र आफूविरुद्ध लड्नकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको उनले दाबी गरे । राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति ल्याएर नभएपछि एमालेले महाधिवेशन नै यहीँ गर्न लागेको उनले बताए । कतिपयले प्रचण्ड अब डराएर चुनाव लड्न अरु नै जिल्लामा जान लागेको भन्ने थाहा पाएको भन्दै उनले आफू डराउने खालको मान्छे नभएको बताए । चितवन छाडेर कतै नजाने भन्दै उनले अबको चुनावमा सबै प्रतिगमनकारीलाई बढार्न मन लागेको उल्लेख गरे ।