काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका दैलेखका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको छ।
वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको शुक्रबार बिहान ११ः२० मा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।
उनले भने,‘उहाँको निधन भएको डाक्टरहरुले जानकारी गराएका छन् । बिहान ११ः२० बजेतिर उनको निधन भएको हो ।’
राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो ।
नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको डाक्टरले बताएका थिए । वीर अस्पतालले केही समयअघि पत्रकार सम्मेलन गरी नेपालीको अवस्था अत्यन्तै गम्भीर रहेको जानकारी दिएको थियो।
बिहिबार आत्मदाहको प्रयासपछि गम्भीर रूपमा जलेका नेपालीलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो। उनको शरीरको ठूलो भाग जलेको र अवस्था अत्यन्तै गम्भीर रहेपछि चिकित्सकहरूले थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजान सिफारिस गरेका थिए।
चिकित्सकहरूको प्रारम्भिक सुझावपछि सरकारले उनलाई भारत लैजान आवश्यक सम्पूर्ण तयारी गरेको थियो। एयर एम्बुलेन्सको व्यवस्था गर्नुका साथै भारतको विमानस्थलदेखि एम्स अस्पतालसम्म पुर्याउने सम्पूर्ण बन्दोबस्त मिलाइएको थियो। सरकारले उनको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णयसमेत गरेको थियो। उनलाई तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याउन सडक मार्ग सहज बनाउन नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको थियो।
तर, वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था थप अस्थिर बनेपछि चिकित्सकहरूले यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानको जोखिम झन् बढ्न सक्ने सुझाव दिएका थिए। त्यसपछि सरकारले उनलाई तत्काल भारत नलैजाने निर्णय गरेको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


