आइतबार, कार्तिक १६ गते २०८३
images
images

शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउन प्रतिबद्ध छौं : अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
मंसिर ५, २०७८ आइतबार
  • 427
    SHARES
  • शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउन प्रतिबद्ध छौं : अध्यक्ष प्रचण्ड

    मंसिर ५ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन् ।

    images

    विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५औं वर्षका अवसरमा आइतबार वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले यो अवधिमा राज्य पुनर्संरचना, लोकतन्त्र संस्थागत, समावेशी समानुपातिक सहभागितामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको उल्लेख गरेका छन् ।

    आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाहरुको भूमिका बढेको, नेपाली सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भैसकेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालीन घटनाको सत्यतथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरु गठन भै कार्यरत रहेको बताएका छन् ।  

    images

    संवैधानिक रुपमा स्थापित गरिएका राष्ट्रिय मानवअधिकार आयोग, महिला, दलित, आदिवासी जनजाति आयोग जस्ता आयोगहरुले पनि आफ्नो ठाउँमा मानवअधिकार र शान्तिका लागि भूमिका निर्वाह गरिरहेको दाहालको भनाइ छ ।

    'युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिप्रण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयावाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ,' उनले भनेका छन् ।

    दाहालले आजसम्मका राजनैतिक उपलब्धीप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध रहेको बताएका छन् । 'यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं । बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्बद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं,' वक्तव्यमा भनिएको छ ।

    सहिद तथा बेपत्ता परिवार, घाइते, विस्थापितलगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी संसद अधिवेशनमा टुङ्गोमा पुर्‍याउने र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिबद्ध रहेको दाहालले दोहोर्‍याएका छन् ।

    शान्ति र महिला सम्बद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव न. १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापूर्वक सम्पन्न गरिसकेको उल्लेख गर्दै दाहालले दोस्रो कार्ययोजनासमेत कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । 'आजको यस ऐतिहासिक दिनमा हाम्रो यो प्रतिबद्धता पूरा गर्न सबै सम्बद्ध पक्षबाट सहयोगको अपेक्षा पनि गर्दछौं,' वक्तव्यमा आह्वान गरिएको छ ।

    May be an image of text