आइतबार, कार्तिक १६ गते २०८३
images
images

साढे ७ अर्ब बराबरको आईपीओ स्वीकृतिको पर्खाइमा, नेतृत्वविहीन हुँदा ढिलाइ 

एक्सप्रेस पाना
पौष १३, २०७८ मंगलबार
  • 536
    SHARES
  • साढे ७ अर्ब बराबरको आईपीओ स्वीकृतिको पर्खाइमा, नेतृत्वविहीन हुँदा ढिलाइ 

    पुस १३ काठमाडौं ।  विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी कम्पनीहरूले साढे ७ अर्ब बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डमा २८ वटा कम्पनीले कुल सात अर्ब ३९ करोड ६६ लाख ४०० रुपैयाँ बराबरको ६ करोड ७२ लाख ४६ हजार चार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् । यसमध्ये १८ वटा हाइड्रोपावर, दुई इन्स्योरेन्स, ६ माइक्रोफाइनान्स र दुईवटा अन्य कम्पनी रहेको बोर्डले जनाएको छ । 

    images

    बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीहरूको सेयर निष्कासन प्रक्रिया सुरु हुनेछ । तर, चार महिनायता बोर्डकाे अध्यक्ष रिक्त हुँदा सेयर निष्कासनका लागि स्वीकृति हुन सकेको छैन । तत्कालीन बोर्ड अध्यक्ष भिष्म ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर भित्रि कारोबार गरेको खुलेपछि सरकारले उनलाई असोज दोस्रो साता सरकारले बर्खास्त गरेको थियो । 

    सेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमध्य सयपत्री हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, रिलायबल लाइफ इन्स्योन्स, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, सिवाईसी लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, स्वेतगंगा हाइड्रो, मन्दाकिनी हाइड्रो, सिक्लेस हाइड्रो, सुपरमाई हाइड्रोपावर, साञ्जेन जलविद्युत र इस्टर्न हाइड्रोपावरको प्रारम्भिक समीक्षा भइरहेको बोर्डले जनाएको छ । 

    images

    यसैगरी डिस मेडिया नेटवर्क, आईएमई लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर कम्पनीको आवेदनको प्रारम्भिक समीक्षा गरी कम्पनीलाई प्रतिक्रिया पठाइएको बोर्डले जानकारी दिएको छ । 

    विन्धावासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर कम्पनी, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चरर्स लिमिटेड, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, अप्पर हेवा खोला कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालको आवेदन स्वीकृतिको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ । 

    बोर्डका तथ्यांकअनुसार सबैभन्दा बढी रिलायवल लायफ इन्स्योरेन्सले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि स्वीकृति मागेको छ । सेयर मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ मा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

    पछिल्लो समय सर्वसाधारणमा सेयरमा लगानी गर्न आकर्षित भएसँगै साधारण सेयरमा उच्च आवेदन हुने गरेको छ । यसैगरी प्रविधिको विकासका कारण घरैबाट समेत आवेदन दिन पाउने भएकाले पनि साधारण सेयरमा उच्च आवेदन पर्ने गरेको छ ।न्युज कारखाना