बिहीबार , कार्तिक २० गते २०८३
images
images

युवा संघ नेपालको टोलिले ११ महीना देखि जेलमा रहेका उमाशंकर राय भारलाई भेट्यो

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 706
    SHARES
  • युवा संघ नेपालको टोलिले ११ महीना देखि जेलमा रहेका उमाशंकर राय भारलाई भेट्यो

    माघ ७ काठमाडौं । नेकपा (एस) निकट युवा संघ नेपालको टोलिले ठगको फन्दामा परेर ११ महिना अगाडि जेल परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभारलाई नख्खु कारागार पुगि भेट गरेका छन्  ।

    images

    आज युवा संघ नेपालको अध्यक्ष नरेश शाहीको नेतृत्वमा नख्खु कारागारमा भेट गरि गह भरी आँसु बोकेका भारलाई ठगहरु खोज्न सहयोग गर्ने प्रतिबद्धता दिएको संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राइले जानकारी दिए ।

    राजस्व अनुसन्धान विभागको अनुसन्धानपछि उच्च अदालत पाटनमा रायभारविरुद्ध राजस्व छलीको मुद्दा दर्ता भएको थियो । ऐलानी जग्गमा बनेको कच्ची घरमा बस्ने र बिहान–साँझ हातमुख जोड्न पनि धौधौ पर्ने परिवारका रायभरमाथि करिब २८ करोड रूपैयाँ राजस्व छली गरेको अभियोग लगाइएको छ ।

    images

    त्यही अभियोगमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमको इजलासले गतवर्षको फागुन १९ मा रायभरलाई ७५ लाख रूपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । उक्त धरौटी रकम बुझाउन वा जेथा जमानत वा बैंक जमानत राख्न नसके उनलाई थुनामा पठाउन दिएको आदेश बमोजिम रायभर नख्खु कारागारमा थुनामा छन् ।

    तत्कालीन समयमा काठमाडौं कोटेश्वरमा बस्दै आएका सर्लाहीको साविक गोडैता गाविस– ६ (हाल गोडैता नगरपालिका–८) का सरोजकुमार मिश्रले रायभरको नागरिकताको फोटोकपी लिएर काठमाडौंमा ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स नामका दुई कम्पनी दर्ता गराएका थिए । साथै मिश्रले नै सिटिजन्स् बैंकमा खाता खोलेर बैंकसम्बन्धी सम्पूर्ण कारोबारको अख्तियारी आफैंले लिएका थिए ।

    रायभरलाई ब्लु क्रस ट्रेडर्समार्फत १५ करोड ८७ लाख ७ हजार ९ सय १३ र जेन सप्लायर्समार्फत १२ करोड ३ लाख ४३ हजार ७ सय ३९ रूपैयाँ छलेको अभियोग लगाइएको छ ।

    दुवै कम्पनीबाट गरी छलेको भनिएको २७ करोड ९० लाख ५१ हजार ५ सय ५२ रूपैयाँ जरिवाना र मुद्दाको फैसला हुने समयसम्मको थप जरिवाना रकम उनीबाट असुल्नुपर्ने विभागको मागदाबी छ । साथै राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम पाँच वर्षसम्म कैद गर्न पनि माग गरेको छ ।

    राजस्व अनुसन्धान विभागले उच्च अदालतमा दर्ता गराएको ८७ पृष्ठ लामो अभियोग पत्र, उमाशंकरले अदालतमा दिएको बयान, अदालतको आदेश र उमाशंकरका परिवारसँगको कुराकानीबाट मिश्रले उमाशंकर जस्ता सिधासाधा युवाको कागजात दुरूपयोग गरेर ठूलो रकम कर छली गरेको प्रस्ट हुन्छ ।

    मिश्रले प्रोकरस इन्टरनेसनल प्रालि (स्थायी लेखा नं ६०३५३२३४८), आरकेएस इन्टरनेसनल प्रालि (स्थायी लेखा नं. ६०४२३२८९२), अनन्या इन्टरनेसनल (स्थायी लेखा नं. ६०५२१६४१५), इन्टरसिटी इन्टरनेसनल (स्थायी लेखा नं ६०५२१६४२८), ब्लु क्रस ट्रेडर्स (स्थायी लेखा नं. ६०४८५७६०८), जेन सप्लायर्स (स्थायी लेखा नं. ६०४२९६७७३), राज एन्ड किशोर इन्टरनेसनल (स्थायी लेखा नं. ६०३८२८६९६) र स्विˆट इन्टरनेसनल प्रालि (स्थायी लेखा नं. ६०४२९६७९९) नामक फर्म/प्रालिहरूको बैंक खाता सञ्चालक बनेर तथा एसकेएम एक्टिभ ट्रेडिङ प्रालि (स्थायी लेखा नं. ६०३५३०६४१) को सञ्चालक बनेर एक अर्ब रूपैयाँ भन्दा बढी कर छलेको राजस्व अनुसन्धान विभागले दायर गरेको अभियोग पत्रमा देखिन्छ । विभागले मिश्रले मूल्यअभिवृद्धि कर, आयकार र लाभांश कर ठगी गरेको भन्दै एक अर्ब ४ करोड २४ लाख ९९ हजार ७ सय २८ रूपैयाँ बिगो कायम गरेर बिगो र त्यति नै जरिवाना रकम उनीबाट असुल्न माग गर्दै मुद्दा चलाएको हो ।

    राजस्व छलीका मुख्य अभियुक्तहरु फरार रहेका छन् । तर, त्यसको मूल्य उमाशंकर जस्ता निमुखाले चुकाउनु परेकाले नेपालमा भएको माफिया र संगठित ठगहरु विरुद्ध संघले ससक्त सामाजिक अभियान संचालन गर्ने प्रवक्ता राइले बताए ।