आइतबार, कार्तिक १६ गते २०८३
images
images

एक सातादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा

एक्सप्रेस पाना
श्रावण २४, २०७८ आइतबार
  • 288
    SHARES
  • एक सातादेखि अवरुद्ध बेनी–जोमसोम  सडक सञ्चालनमा

    म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो ।

    images

    म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ ।
    मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग सहमति गरेर सडक मर्मत गरी शनिबार साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
    सडक विस्तारका क्रममा पहिराले क्षति पु¥याएको जग्गा जमिनको क्षतिपूर्ति र जोखिममा परेका बस्ती संरक्षण माग गर्दै काभ्रेका बासिन्दाले सडक मर्मत र निर्माणमा अवरोध गरेका थिए । म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले आयोजनाले सडक विस्तारका क्रममा क्षति पुगेको जग्गाको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने र जोखिममा परेका बस्ती संरक्षण गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको बताए ।

    पहिराले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका स्थानीयवासी खड्क खत्रीले बताउनुभयो । जग्गाको क्षतिपूर्तिका लागि तत्कालै प्रक्रिया अघि बढाउने र बर्खालगत्तै संरक्षणको काम गर्ने सडक आयोजनाले प्रतिबद्धता जनाएको छ । 
    बेनी–जोमसोम सडक अवरुद्ध हुँदै म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाका स्थानीयवासी समस्यामा परेका थिए । आवतआवतका लागि गाडी परिवर्तन गर्नुपर्ने झन्झट थियो । ढुवानी र निकासी ठप्प बनेको थियो । बिरामीलाई अस्पताल लैजान समस्या भएको थियो ।
    मर्मतपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम सडक पहिराका कारण पटक–पटक अवरुद्ध हुँदा सास्ती भएको छ । म्याग्दीको राहुघाट, बेगखोला, रुप्सेखोला र काभ्रेभिरमा सडक अवरुद्ध हुने गरेको छ ।

    images