अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गरी कार्यान्वयनमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आन्तरिक राजस्व विभागसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न भन्नुभएको हो ।
“चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन । एकपटक राम्रोसँग सोच्नुहोस् राजस्व सङ्कलन बढाउन सकिने उपाय तपाईं आफैँ फेला पार्नुहुनेछ”, उहाँले भन्नुभयो, “त्यसका लागि तपाईंलाई के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ । तर राजस्व दोब्बर बनाउने लक्ष्यका साथ काम गर्नै पर्दछ ।”
उहाँले करदातालाई कानून लगाएर कर तिराउने नभई करदाता आफैँले कर तिरुँतिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिनुभयो । “करदाता आफैँ उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयकातर्फबाट केके गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्”, मन्त्री शर्माले अगाडि भन्नुभयो, “हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।”
उहाँले समग्र राष्ट्रको सम्पत्ति लेखा जोखा गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । “कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन रु यसको हिसाबकिताब खोई रु जनतासँग भएको सम्पत्ति केकति हो रु सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो रु यसको हिसाबकिताब गर्ने योजना पनि चाहियो”, उहाँले भन्नुभयो ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व सङ्कलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताउनुभयो । राजस्व समूहका कर्मचारीले १०–५ को ड्युटी गरेर नपुग्ने भएकाले सोहीअनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिनुभयो । आन्तरिक राजस्व विभागअन्तर्गतका ८४ वटा कार्यालय सबैले राजस्व सङ्कलनमा देखिएका समस्याको एमआरआइ गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपाय निकाल्न आग्रह गर्नुभयो ।रासस
.jpg)


