काठमाडौँ । भूकम्पको ६ वर्ष बित्दा लमजुङमा क्षतिग्रस्त घरमध्ये १० हजार ४४४ को पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालयकाअनुसार ७४ प्रतिशत निजी आवास पुनर्निर्माण भएको हो ।
जिल्लामा रहेका १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ सय ४४ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्तावापतको रकम लिइसकेका छन् । ०७२ को भूकम्पले लमजुङमा १५ हजार ५ सय ७७ निजी घर भत्किएका थिए भने ८ सय ९४ घर प्रवलीकरण लाभग्राहीका सूचिमा परेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुर्यप्रसाद शर्माले बताए । उनकाअनुसार १४ हजार ६ सय २७ लाभग्राहीले पहिलो किस्तावापतको रकम लिएका छन् भने १२ हजार ४४ लाभग्राहीले दोस्रो किस्ता बुझिसकेका छन् । जिल्लामा ४ हजार १ सय ४३ घर निर्माणाधीन अवस्थामा छन् ।
चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा दुधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो । यस्तै भूकम्पपछिको पुनःनिर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका २४ जनाले अनुदान रकम फिर्ता गरेका छन् । पूर्ण क्षतिको विवरणमा परेर घर निर्माणका लागि भन्दै पहिलो किस्ता लगेर घर नबनाएकाले उक्त रकम फिर्ता गरेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निश्चित समयभित्र घर निर्माण गरिसक्नुपर्ने भनी समयसीमा तोकिएर सबै लाभग्राहीहरूलाई आग्रह गरेपछि जिल्लामा २४ जना लाभग्राहीले निर्माण गर्न नसकेको कारण जनाउँदै निवेदनसहित रकम फिर्ता गरेका हुन् ।
.jpg)


