असार १ हेटौंडा । उपमहानगरपालिका वडा नम्बर १६ हटिया स्थित जनप्रिय माध्यामिक विद्यालयमा गणित विषयको नमूना प्रयोगशाला स्थापना गरिएको छ । जिल्लाकै पहिलो नमूना विद्यालय जनप्रियमा गणित विषय शिक्षणका लागि प्रयोगशालाको मंगलबार उद्घाटन गरिएको हो । विद्यालयका गणित विषय विभागका शिक्षक तथा विद्यार्थीहरुको सक्रियतामा निर्माण गरिएको प्रयोगशालाको हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाले उद्घाटन गरेका हुन् ।
गणित विषय दैनिक जीवनसंग प्रत्यक्ष जोडिएको विषय हुँदाहुँदै पनि त्यसको मूर्त धारणा बसाउन प्रयोगशालाको अभावमा बालबालिकाले कठीनाई महशुस गर्ने गरेकोले गणित ल्याव स्थापना गरिएको गणित विषय विभागका संयोजक भूपेन्द्र चौलागाईले बताए । ल्यावको निर्माण र प्रयोगपछि जस्तासुकै अमूर्त विषयलाई पनि गर्दै र सिक्दै पद्दती एवम् अभ्यासबाट सुत्रतर्फ लैजान सकिने चौलागाईले बताए । ल्यावको प्रयोगबाट बालबालिकामा वैज्ञानिक सोचतर्फ उन्मूख गराउन खास धारणा निर्माण गर्न सकिने पनि उनले बताए ।
छोटो समयमा गणित प्रयोगशाला निर्माण गरिएकाले यस्को अझै विस्तार गरिने र विद्यालयले बालबालिकाको पठनपाठनमा आवश्यक कुनैपनि सामग्री अपुग हुन नदिने प्रधानाध्यापक नमराज अर्यालले बताए । गणित प्रयोगशाला निर्माण कार्यबाट भाइबहिनीहरूमा रचनात्मक क्षमताको विकास हुने र आउँदा दिनहरूमा अंग्रेजी तथा सामाजिक प्रयोगशालाहरूलाई पनि व्यवस्थित गर्दै अगाडी बढ्ने अर्यालले बताए ।
हेटौंडा-१६ का वडा अध्यक्ष कोईरालाको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण प्रसाद पनेरुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कोईरालाले जनप्रिय मावि यस्ताखाले गतिविधीले गर्दा पनि नमूना बन्न सफल रहेको बताए । आगामी दिनमा पनि विगत जस्तै स्थानीय सरकारका तर्फबाट होस् वा ब्यक्तिगत तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको उनले बताए ।
कार्यक्रममा कक्षा १० की छात्रा द्वय स्नेहा दाहाल र सुरक्षा बञ्जाराले गणित विषय सम्वद्ध सामग्रीको नमूना प्रस्तुती समेत गरेका थिए । कक्षा १० मा अध्ययनरत छात्र मिलन गोलेले स्वागत गरेको कार्यक्रमलाई छात्रा कृतिका लौडारीले सहजिकरण गरेको कार्यक्रममा रोटरी क्लव मकवानपुरका अध्यक्ष रामप्रसाद शर्मा शिक्षक अभिभावक संघ का सदस्य बुद्धप्रसाद दाहाल प्रधानाध्यापक अर्याल, सहायक प्रअ रामआशिष मण्डल, समाजसेवी धीरज कार्की, हटिया जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विजय नेपाल, शिक्षकहरु लक्ष्मी श्रेष्ठ, रविन श्रेष्ठ, कल्याणकृष्ण प्याकुर्याल, सम्प्रस पौडेल, उमा श्रेष्ठ, अभिनन्द सुब्बा,युक्तलाल विश्वकर्मा, सुनिल गौतम लगायतको उपस्थिती रहेको थियो ।


