हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा बन्धक बनाएर फिरौती रकम माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौँडा–१२ बस्ने २१ वर्षीय समिर बल र सोही वडा बस्ने २८ वर्षीय अशोक लामा रहेका छन् ।
उनिहरुले हेटौँडा–१० बसपार्कस्थित ट्राभल होटल एण्ड लजको रुम नंबर १०७ मा पर्सा बिरंगज महानगरपालिका १९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाएर राखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
श्रीवास्तवलाई जेठ २९ गते बन्धक बनाएर उनको घरमा फोन सम्पर्क गर्न लगाएर फिरौति रकम (पैसा) समेत माग गरेको प्रहरीले जनाएको छ । उनिहरुले माग गरेको रकम भने प्रहरीले खुलाएको छैन् ।
प्रहरीले उनिहरुलाई सोमबार नियन्त्रणमा लिएर जिल्ला अदालतबाट दिन ५ दिनको म्याद लिएर अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


