भाद्र ७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।
क्यानले केही समयअगाडि जर्सी डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गरेको थियो । जसमा डिजाइनरले एसीसी र आईसीसीको जर्सी प्रोटोकललाई ध्यान राख्दै नेपाली राष्ट्रिय झन्डासँग मिल्ने रंग संयोजनमा जर्सी डिजाइन गर्नुपर्ने सर्त अघि सारिएको थियो । उक्त प्रतिस्पर्धामार्फत प्राप्त ५ सयभन्दा बढी डिजाइनबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी सार्वजानिक गरिएको हो ।
जर्सी छनोटका लागि क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइ सेकेन्ड टिचरका आशिष सिग्देल सम्मिलित चारजनाको समिति बानाएको थियो । नेपाली क्रिकेट टोली ओमानमा हुने पपुवा न्यूगिनीसँगको २ एकदिवसीय र अमेरिका र ओमानसँग हुने त्रीकोणात्मक टी२० सिरिजका लागि मंगलबार ओमान प्रस्थान गर्दैछ ।


