सोमबार, भाद्र २९ गते २०८३
images

जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध: मन्त्री चौधरी

एक्सप्रेस पाना
आषाढ २३, २०७९ बिहीबार
  • 373
    SHARES
  • जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध: मन्त्री चौधरी

    आषाढ २३, २०७९ बिहीबार
    सहरी विकासमन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।   

    images

    धनुषाको जनकपुरधामस्थित बसपार्क निर्माण कार्यको शिलान्यास गर्नुहुँदै मन्त्री चौधरीले धार्मिक, सांस्कृति र ऐतिहासिक नगरी जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सरकार गम्भीर रहेको बताउनुभयो । जनकपुरधाममा रहेका पोखरी तथा मठ, मन्दिरको जीर्णोद्धार लगायतका काम भइरहेको जानकारी दिनुहुँदै मन्त्री चौधरीले मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधामको सडक पूर्वाधार स्तरोन्नतिको कामलाई समेत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । 

    जनकपुरधामको मुख्य चुनौतीका रुपमा देखिएको फोहरमैला व्यवस्थापनका लागि जग्गा उपलब्ध भए सरकारले फोहरमैला व्यवस्थित गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    images

    कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री सत्रुधन महतोले जनकपुरधामलाई धार्मिक पर्यटकीय करिडोरका रुपमा विकास गर्ने योजना बनाएको जानकारी दिनुहुँदै त्यसका लागि तीनै तहको सरकारसँग समन्वय गरी अघि बढ्ने बताउनुभयो । 

    जनकपुरधामको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माणको वर्षांदेखि चर्चा चल्दै आए पनि जग्गा व्यवस्थापन हुन नसक्दा सो कार्य हुन नसकेको बताउनुहुँदै उहाँले ल्याण्डफिलसाइट निर्माणका लागि तत्काल जग्गाको व्यवस्थापन गर्न उपमहानगरपालिकासँग आग्रह गर्नुभयो ।

    जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बसपार्क निर्माण भएपछि नगरपालिकाको ट्राफिक व्यवस्थापनसँगै नगरको आर्थिक विकासमा समेत टेवा पुग्ने भएकाले यसमा नगरपालिकाले सहयोग गर्न तयार रहेको बताउनुभयो । 

    उहाँले नगरक्षेत्रकोे फोहरमैला व्यवस्थापन गर्न जग्गाको खोजी कार्य भइरहेको र छिट्टै जग्गा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । कूल रु १० करोड २८ लाख ६६ हजार ४३९ को लागतमा निर्माण हुन लागेको बसपार्क आगामी १५ महिनाभित्र सकिने लक्ष्य रहेको सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनुषाका प्रमुख प्रदीप खनालले जानकारी दिनुभयो । 

    दुई चरणमा निर्माण गरिने बसपार्कभित्र प्रथम चरणमा सार्वजनिक शौचालय, टिकट काउन्टर तथा चमेनागृह, वेटिङ सेट, पार्किङ, वृक्षरोपणलगायतका कार्य गरिने र दोस्रो चरणमा पसल, रेस्टुरेन्ट, कार्यालय, आगन्तुक आवाससहितको बहुउद्देश्यीय चारतले भवन तथा ग्यारेज निर्माण गरिने प्रमुख खनालले बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिका २३ स्थित गुठी संस्थाको स्वामित्वमा रहेको चार बिघा क्षेत्रमा निर्माण हुन लागेको बसपार्क निर्माणका लागि बोलपत्रमार्फत श्री नागार्जुन÷हेम÷सावित्री जेभी जनकपुरधाम ४ ले ठेक्का लिएको छ ।