आइतबार, कार्तिक १६ गते २०८३
images
images

ओझेलमा परेको चम्पुजा पार्क : पर्यटकीय सम्भावना प्रशस्त, प्रचारप्रसारको अभाव

कार्तिक ७, २०८३ शुक्रबार
  • 102
    SHARES
  • ओझेलमा परेको चम्पुजा पार्क : पर्यटकीय सम्भावना प्रशस्त, प्रचारप्रसारको अभाव

    काठमाडौँ ।  दोलखा जिल्लाको प्रसिद्ध धार्मिक स्थल भीमेश्वर मन्दिरको काखैमा रहेको चम्पुजा पार्क प्राकृतिक सौन्दर्य र पर्यटकीय दृश्यावलोकनका दृष्टिले आकर्षक गन्तव्य हो। धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यस पार्कबाट दोलखाका विभिन्न रमणीय स्थलको अवलोकन गर्न सकिन्छ। यद्यपि, पर्याप्त प्रचारप्रसार, बजेट व्यवस्थापन र प्रभावकारी संरक्षणको अभावमा पार्क ओझेलमा परेको स्थानीयको गुनासो छ।

    images

    चम्पुजा पार्कबाट गौरीशंकर हिमालको मनमोहक दृश्य, शैलुङका सय थुम्का, तामाकोशी नदीको कलकल बगाइ, हरियाली वनजङ्गल, अग्ला पहाडका टाकुरा तथा ग्रामीण बस्तीको सुन्दरता नियाल्न सकिन्छ। प्राकृतिक वातावरणमा केही समय बिताउन र शान्त तथा रमणीय स्थानमा आराम गर्न चाहनेहरूका लागि यो पार्क उपयुक्त गन्तव्य बन्न सक्छ।

    पार्कको अर्को विशेषता यसको वरपर रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हुन्। ऐतिहासिक चौघरा दरबार, कालिनाग मन्दिरलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाले यस क्षेत्रको महत्त्व थप बढाएका छन्। त्यस्तै, फुलपा बेंसीमा देखिने हरियाली र झुलिरहेका अन्नबाली तथा नजिकै रहेको चरिकोट बजारले पनि यहाँको आकर्षण बढाउँछन्।

    images

    बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको दोलखाको ऐतिहासिक परिवेशलाई नजिकबाट बुझ्नसमेत चम्पुजा पार्क उपयोगी स्थल बन्न सक्छ। यस क्षेत्रको आसपासमा रहेका थामी समुदायका बस्ती तथा स्थानीय जीवनशैलीले यहाँ आउने पर्यटकलाई फरक अनुभव प्रदान गर्न सक्छन्।

    मानवनिर्मित जलकुण्ड, धुपी, सल्ला, गुराँसलगायतका वनस्पति तथा विभिन्न प्रजातिका फूलले पार्कको सुन्दरता थप बढाएका छन्। फूलहरूको सुगन्ध र चराचुरुङ्गीको चिरबिर आवाजले यहाँको वातावरणलाई अझ मनमोहक बनाउँछ। प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक तथा साहित्यिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना पनि यस पार्कमा रहेको छ।

    पार्कमा वनभोज, साहित्यिक कार्यक्रम, सांस्कृतिक उत्सव तथा स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्ने गतिविधिलाई नियमितता दिन सके यसको पर्यटकीय आकर्षण थप बढ्न सक्छ। यस्ता कार्यक्रमले स्थानीय संस्कृति संरक्षण गर्नुका साथै आन्तरिक पर्यटकलाई आकर्षित गर्न र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुर्‍याउन सक्छन्।

    चम्पुजा पार्कमा आंशिक रूपमा पर्यटकको आवागमन हुनु सकारात्मक पक्ष हो। तर, दोलखा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यस पार्कबारे पर्याप्त जानकारी दिन सके पर्यटकको सङ्ख्या थप बढाउन सकिने सम्भावना छ। धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमणमा आउने पर्यटकलाई चम्पुजा पार्कसम्म जोड्न सके यस क्षेत्रलाई जिल्लाकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।

    IMG-20261022-WA0005(1).jpg

    त्यस्तै, त्रिपुरा सुन्दरी भगवती मन्दिरसँग जोडिएको धार्मिक तथा ऐतिहासिक परिवेश र मुद्रा प्रचलनमा ल्याउने इन्द्रसिंह देवको सालिकजस्ता सम्पदाले पनि यस क्षेत्रको ऐतिहासिक परिचयलाई थप महत्त्वपूर्ण बनाएका छन्।

    स्थानीयको भनाइमा, पर्याप्त बजेटको व्यवस्था हुन नसक्नु, पार्कको प्रचारप्रसार कमजोर हुनु तथा व्यवस्थापनमा देखिएका कमीकमजोरीका कारण यसको सम्भावनाअनुसार विकास हुन सकेको छैन। पार्कको पूर्वाधार सुधार, नियमित सरसफाइ, व्यवस्थित बसाइको व्यवस्था र प्रचारप्रसारमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।

    चम्पुजा पार्कको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय तह, पर्यटनसँग सम्बन्धित निकाय र समुदायबीच सहकार्य आवश्यक छ। पार्कको प्राकृतिक तथा सांस्कृतिक पहिचान जोगाउँदै आवश्यक पूर्वाधार विकास गर्न सके यसले दोलखाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

    IMG-20261022-WA0012.jpg

    प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक सम्पदा र सांस्कृतिक विविधताको संगम रहेको चम्पुजा पार्क उचित संरक्षण र प्रचारप्रसारको प्रतीक्षामा छ। सम्भावना भएर पनि ओझेलमा परेको यस स्थललाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके दोलखाको पर्यटन क्षेत्रले नयाँ

    गति लिन सक्ने देखिन्छ।