शनिबार, भाद्र २७ गते २०८३
images

शिक्षा र प्रविधिमा जर्मनीले सहकार्य बढाउने

एक्सप्रेस पाना
आषाढ २४, २०७९ शुक्रबार
  • 299
    SHARES
  • आषाढ २४, २०७९ शुक्रबार
    नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवद्र्धनका लागि जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ ।

    images

    एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले गोथे जेन्ट्रमसँगको सहकार्यमा बिहीबार आयोजना गरेको ‘जर्मनीबारे जानकारी’ विषयक सत्रमा नेपालस्थित जर्मनी दूतावासका कन्सुलर लउरा लगबेयरले नेपालको शिक्षा, प्रविधि तथा अन्य अत्यावश्यक क्षेत्रमा सहकार्य बढाउने उल्लेख गर्दै इञ्जीनियरिङ क्षेत्रमा शैक्षिक प्रशिक्षण प्रदान गर्ने सही मार्गमा नेपाल रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

    “जर्मन भाषाको सिकाइका लागि ठूलो सङ्ख्यामा विद्यार्थी उत्साहपूर्ण ढङ्गले समर्पित भएकामा म कृतज्ञ छु”, लगबेयरले भन्नुभयो, ‘यसबाट विद्यार्थीलाई क्रमशः जर्मनीप्रति नजिक बनाउँदै अन्तर्राष्ट्रिय प्रस्तुतिमा सहभागी हुने कदमको थालनी हुनेछ । त्यसैले म विद्यार्थीलाई जर्मनीका इञ्जीनियरिङ कलेजसँग जोडिएर आफ्नो सिकाइको क्षितिजलाई फराकिलो बनाउन उत्प्रेरित गर्दछु ।”

    images

    कार्यक्रममा गोथे जेन्ट्रम काठमाडौँका विज्ञटोली सदस्य सेवास्टेन वइस्टिच, निर्देशक तथा भाषा विभाग प्रमुख बेन्जामिन माट्रेन, जर्मन भाषा शिक्षक सुवास थपलिया तथा गोथे जेन्ट्रमकी अधिकारी म्यारी सोफी स्किल्डको महत्वपूर्ण योगदान रहेको थियो । कार्यक्रममा गोथे जेन्ट्रम काठमाडौँका विज्ञटोली सदस्य सेवास्टेन वइस्टिचले गोथे जेन्ट्रमको ऐतिहासिक पृष्ठभूमिबारे सङ्क्षिप्त चर्चा गर्दै यसले राष्ट्रको संस्कृति र कलाको विविधतालाई कसरी प्रतिविम्बन गर्छ भन्ने विषयमा स्पष्ट पार्नुभयो । गोथे नेतृत्वदायी भाषिक केन्द्रका साथै विश्वका दुई सयभन्दा बढी राष्ट्रको महत्वपूर्ण सञ्जालको एउटा अङ्ग रहेको उहाँको धारणा थियो । गोथे जेन्ट्रम काठमाडौैँसँग विश्वका विशेषज्ञहरूको दक्ष टोली रहेको उहाँले बताउनुभयो । 

    गोथे जेन्ट्रमका भाषा विभाग प्रमुख बेन्जामिन माट्रेन, संस्थाका जर्मन भाषा शिक्षक सुवास थपलिया तथा गोथे जेन्ट्रमसँग आबद्ध अधिकारी म्यारी सोफी स्किल्डले कार्यक्रममा उपस्थित स्रोताहरूलाई जर्मनीको शिक्षा, संस्कृति, अशान्त विगत, ऐतिहासिक स्थल, उत्कृष्ट चाडपर्व, अनुपम सभ्यता, समृद्ध भाषा तथा कलात्मक जीवनशैलीका बारेमा जानकारी गराउनुभयो ।

    एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले यस्ता प्रकृतिका कार्यक्रमबाट इच्छुक विद्यार्थी मात्र नभएर उपस्थित सम्पूर्ण सहभागीसमेत लाभान्वित हुने बताउनुभयो ।