असार २८ हेटौंडा । विद्यार्थीमाथि यौन दूव्र्यवहार गरेको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिका ९ नम्बर वडा अध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार मंगलबार दिउँसो १ बजेको समयमा हेटौंडा बजारबाट वडा अध्यक्ष घलानलाई पक्राउ गरिएको हो ।
राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएकी कैलाश-९, नामटारस्थित कालिका माविकी छात्रालाई हेटौंडा-१० स्थित होटलमै पुगेर वडा अध्यक्ष घलानले असार १८ गते राती यौन दूव्र्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ ।
वडा अध्यक्षलाई पक्राउ गरेको जानकारी गराउनुहुँदै प्रहरी प्रमुख गुरुङले म्याद थपका लागि जिल्ला अदालत मकवानपुरमा पेश गर्ने कार्य भइरहेको बताउनुभयो । पक्राउ परेका वडा अध्यक्ष घलानलाई हिरासतमै राखी आवश्यक अनुसन्धान गरिने प्रहरी प्रमुख गुरुङले जानकारी दिनुभएको छ ।


