भदौं ११ कञ्चनपुर । कञ्चनपुरका चार पालिका भएर महाकालीमा मिसिने दोदा नदीमा बाढी आउँदा गाउँहरू डुबानमा परेका छन् । अविरल वर्षाका कारण हिजो रातिदेखि आएको बाढीका कारण लालझाडी, कृष्णपुर, बेलौरी र पुनर्वास नगरपालिकाका दर्जनौँ बस्तीका हजारौँ घर डुबानमा परेका हुन् ।
लालझाडी गाउँपालिकामा विभिन्न गाउँहरू जाई, पर्सिया, ढुङ्गा, नन्दगाँउ, बल्मी, कसुवा र कञ्जका सयौँ घर डुबानमा परेका गाउँपालिका अध्यक्ष मदन सेन बडायकले बताए । उनका अनुसार गाउँपालिकाको १ देखि ६ नम्बर वडाका कैयौं घर डुबानमा परेका छन् । केही स्थानीयका घरपालुवा जनावर, भौतिक सम्पत्तिसमेत बगेर नष्ट भएका छन् ।
बेलौरी नगरपालिका ५ रामनगर क्षेत्रका घरहरू समेत डुबानमा परेका छन् । पुनर्वास नगरपालिकामा २ र ५ नम्बर वडामा झण्डै डेढसय घर डुबानमा परेका छन् । पूुनर्वास नगरपालिका भएर धनगढी जोड्ने हुलाकी सडकसमेत अवरूद्ध भएको छ । स्थानीय युवा अमरसिंह रानाका अनुसार नदीमा पानीको बहाव बढेसँगै वितण्डा मच्चाएको छ । नदी गाउँ पसे पनि अहिलेसम्म मानवीय क्षतिबाट जोगिएको छ । नदी नै गाउँ पसेपछि मानिसको उद्धारका लागि स्थानीय प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, जनप्रतिनिधि खटिएका छन् । डुबान भएका क्षेत्रमा नागरिकको उद्धार कार्य जारी रहेको कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए ।साभार नेपाल मार्ग
.jpg)


