आइतबार, भाद्र २८ गते २०८३
images

'मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको' भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 501
    SHARES
  • 'मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको' भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

    'मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको' भन्दै भ्रम फैलाएको आरोपमा बुटवलको एक चर्चका पास्टर पक्राउ परेका छन्।

    images

    सोमबार बिहान बुटवल उपमहानगरपालिका-११ बुद्धनगरबाट पास्टर राजेन्द्र गोतामेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। आइतबार सामाजिक सञ्जालमा एक जना मृतकलाई जीवित बनाएको भन्दै भिडिओ सार्वजनिक भएको थियो।

    उनले सो भिडिओ भने अहिलेको नभएको बताएका छन्। ‘पुरानो हो भनेका छन्। यो यहाँको पनि होइन लमजुङ हो कि लुम्बिनीको हो भनेर भनेका छन्,’ प्रहरी नायब उपरीक्षक केसीले भने।

    images

    उनीमाथि के-कस्तो मुद्दामा अनुसन्धान गर्ने बुझ्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा लगिएको छ। त्यहाँबाट आदेश भएअनुसारकै मुद्दा चलाइने उनले बताए।

    रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै यसबारे थप अनुसन्धान अघि बढाउने बताएका थिए।

    सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ।

    भिडि‌ओमा पास्टर भनिएका राजेन्द्र गोतामेले 'प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको' भन्दै 'यशुलाई धन्यवाद दिन' भनेका छन्। गोतामेसँगै वरिपरि केही महिला तथा पुरूषहरूले समेत केही भन्दै गरेको भिडिओमा देखिन्छ।

    भिडिओमा मृत भनिएकी महिला उठेपछि उनकी सासूलाई अगाडि बोलाएर 'विभिन्न अस्पताल लगेर लाखौं रुपैयाँ खर्च गरी उपचार गर्दा पनि निको नभएको' भन्न लगाइएको छ।

    सासू भनिएकी ती वृद्धाले बोल्दै गर्दा पास्टर राजेन्द्र गोतामेले 'एम्बुलेन्समा राखेर काठमाडौं लैजाँदासमेत निको नभएको तर ५/६ लाख खर्च भएको आफूले सुनेको' भन्न लगाएका छन्। साभार: सेतोपाटी