आइतबार, कार्तिक १६ गते २०८३
images
images

बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

एक्सप्रेस पाना
पौष १, २०७९ शुक्रबार
  • 378
    SHARES
  • बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

    बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए । 

    images

    उनका अनुसार गत वर्ष यहाँ कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार छ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष जिल्लाभर २० करोड सात लाख ५० हजारको सुन्तला उत्पादन भएकामा यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर चार हजार तीन सय ८० मेट्रिक टन पुगेको प्रमुख भट्टराईको भनाइ छ ।

    यस वर्ष जिल्लामा २४ करोड नौ लाखभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको उनको भनाइ छ । केही वर्षदेखि यहाँका ग्रामीण क्षेत्रमा प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रमअन्तर्गत सुन्तला जोन घोषणा गरेर बर्सेनि सुन्तला खेती विस्तार हुँदै गएको भट्टराईले बताए ।

    images

    भट्टराई भन्छन्, “बागलुङ मध्यपहाडी क्षेत्रमा पर्छ, यो क्षेत्र सुन्तला उत्पादनका लागि निकै उत्तम ठाउँ मानिन्छ, यहाँको हावापानी र माटो सुन्तला खेतीकै लागि हो जस्तो लाग्छ, कृषक पनि निकै हर्षित हुनुहुन्छ, अघिल्लो वर्ष बोटमा किरा लाग्यो, उपचार पाएनन्, त्यसले गर्दा उत्पादनमा केही कमी आयो, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो, अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले बढी उत्पादन भएको छ ।”

    भट्टराईले सुन्तला खेती गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले आवश्यक औषधि, मल र प्राविधिक सहयोग गर्दै आएको बताए । उनी पछिल्लो समय कृषक सुन्तला खेतीप्रति आकर्षित हुँदै गएको भन्दै यहाँको वातावरण पनि अमिलो प्रजातिका फलफूलका लागि अनुकूल खालको रहेको बताउँछन् । 

    “सुन्तला खेतीबाट कृषकलाई मनग्य आम्दानी हुन्छ, सुरुमा अलिकति मेहेनत गर्नुपर्छ, बिरुवा हुर्के भने धेरै झन्झट गर्नु पर्दैन, फल दिने सुन्तलाको छेउछाउमा अरु खेती गर्न सकिने हुँदा दोहोरो फाइदा हुन्छ”, उनले भने, “कृषकलाई सुन्तला खेतीप्रति आकर्षित गर्न आवश्यक तालिम तथा परामर्श दिने गरेका छौँ, हरेक वर्ष जिल्लामा सुन्तला उत्पादन हुने क्षेत्रफल पनि बढिरहेको छ ।”

    बागलुङमा एक दशकभन्दा अगाडिसम्म परम्परागत सुन्तला खेती हुने गरेको थियो भने अहिले आधुनिक तरिकाले खेती भइरहेको छ । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानासँगै काठेखोलाको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, जैमिनीको दमेक र सर्कुवालगायत ठाउँ सुन्तला खेतीका लागि प्रसिद्ध मानिन्छन् । बागलुङ नगरपालिका–८ सिगानाका कृषक रामबहादुर खड्काले गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेको बताए । 

    उनले गत वर्ष डेढ लाख रुपैयाँको सुन्तला बेचेको भन्दै अहिले साढे तीन लाख बढीको सुन्तला बिक्री हुने बताए । उनी गत वर्ष टिप्ने बेलाको सुन्तलामा किरा लागेपछि नोक्सान व्यहोर्नुपरेको भन्दै अहिले राम्रो भएको बताउँछन् । अहिले फल पनि पोटिलो र रसिलो रहेको उनको भनाइ छ । रासस