शनिबार, भाद्र २७ गते २०८३
images

विद्यालयहरुले स्रोत साधनको समस्या झेल्नु पर्दैन सांसद सापकोटा

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 208
    SHARES
  • विद्यालयहरुले स्रोत साधनको समस्या झेल्नु पर्दैन सांसद सापकोटा

    २२ पुस, सिन्धुपाल्चोक, सिन्धुपाल्चोक क्षेत्र नंबर १ का संघीय सांसद माधव सापकोटा ‘सुबोध’ले स्रोत, साधन र जनशक्तिका कारण जिल्लाका विद्यालयहरुले समस्या झेल्नु नपर्ने बताएका छन् । शुक्रबार जिल्लाको जुगल गाउँपालिका वडा नं ५ स्थित रत्न राज्य माध्यमिक विद्यालयले  गाउँपालिका भित्रको समग्र शैक्षिक सुधार एवं गुणस्तरीय शिक्षाका लागि आयोजना गरेको अन्तरक्रियामा सांसद सापकोटाले विद्यालयहरुलाई साधन स्रोतको अभाव हुन नदिने प्रतिवद्धता जनाएका हुन् । 

    images

    उनले कार्यक्रम आयोजक रत्नराज्य माविलाई जुगल गाउँपालिकाको केन्द्रिय विद्यालयका रुपमा विकास गर्न समेत प्रस्ताव गरे । निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा चीन सरकारको सहयोगमा निर्मित रत्न राज्य माविको भव्य एवं व्यवस्थित भवनको सहि सदुपयोग गर्न सके छोराछोरी पढाउन कै लागि काठमाडौं गएका मध्ये ४० प्रतिशत मानिसलाई गाउँ फर्काउन सकिने उनको भनाई थियो । 

    विद्यालयको व्यवस्थापन र प्राविधिक पक्षलाई बढाउन सकियो भने राम्रो गर्न सकिने सापकोटाको विश्वास थियो । ‘प्रविधि र व्यवस्थापन पक्षमा सुधार गरेर शिक्षामा गुणस्तर ल्याउन सकिन्छ’ उनले भने । यसैविच सांसद सापकोटाको पहलमा रत्न राज्य मावि चनौटे र  काठमाडौंस्थित स्लिङ्टन कलेजबीच प्राविधिक र व्यवस्थापकिय सहकार्य गर्ने सहमती भएको छ । प्रविधि र व्यवस्थापनको क्षेत्रमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सो कलेजले  रत्न राज्यमा प्रविधि र व्यवस्थापनमा सहयोग गर्ने छ । 

    images

    गत मंसिर ४ को चुनावमा शिक्षालाई सहज, गुणस्तरयुक्त र पहुँचयोग्य बनाएर क्रमशः निशुल्क बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका सांसद सापकोटासँगै वागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, अमृता नेपाल, माई सेकण्ड टिचरका संस्थापक एवं स्लिङ्टन सञ्चालक सुलभ बुढाथोकीसँगै कार्यक्रममा सहभागी भएका थिए । 

    सांसद सहयात्रीले विद्यालयको व्यवस्थापनमा छलफल गर्दा मसिना कुरामा बढि ध्यान आग्रह गरे । ‘साना लाग्ने तर महत्वपूर्ण कुरामा छलफल गरौं’ उनले भने । माई सेकेन्ड टिचरका संस्थापक सुलभ बुढाथोकीले अब रत्न राज्य माविलाई काठमाडौं आफूलाई राम्रो भन्ने विद्यालय सरह बनाउन सकिने र आफूहरुले त्यसका लागि काम गर्ने बताए । 

    अन्तरक्रिया पछि स्लिङ्टन कलेजसँग सहकार्य र जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङको अध्यक्षतामा पालिकाको समग्र शैक्षिक अवस्था सुधारका लागि काम गर्ने निर्णय भएको छ । अन्तरक्रियामा जुगल गाउँपालिका उपाध्यक्ष, दलका प्रतिनिधि, वडा अध्यक्षहरु, पालिका भित्रका सबै विद्यालयका शिक्षक प्रतिनिधि, शिक्षा विद्, पालिकाको शिक्षा विभागका प्रतिनिधि, शिक्षक एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।  

    यसैविच जुगल गाउँपालिकाको सुनखोला किनारमा औद्योगिक ग्राम र जडिबुटि संकलन एवं प्रसोधन केन्द्र स्थापनाको काम अघि बढ्ने भएको छ । सांसद सापकोटा, सहयात्री, नेपाल, जुगल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु, जडिबुटि उत्पादन तथा प्रसोधन केन्द्र काठमाडौंका अधिकारीहरुको संयुक्त टोलिले सुनखोलाको किनारमा रहेको सरकारी जग्गाको अवलोकन गरेपछि विस्तृत अध्ययन गरेर काम अघि बढाउने सहमती भएको छ ।