शनिबार, भाद्र २७ गते २०८३
images

जापान लगिदिने भन्दै ३७ जनाबाट तीन करोड ठगेपछि...

एक्सप्रेस पाना
माघ ५, २०७९ बिहीबार
  • 254
    SHARES
  • जापान लगिदिने भन्दै ३७ जनाबाट तीन करोड ठगेपछि...

    मोरङको कटहरी–३ का योगेश राजवंशी विदेश जाने योजनामा थिए । विदेशमा गएर पैसा कमाइ परिवारको आर्थिक अवस्था सुधार गर्न उनी चाहन्थे। मोरङको सुनवर्षी नगरपालिका–६ पटियापाडाका अजय राजवंशीले उनलाई जापान लगिदिने र त्यहाँ पुगेपछि राम्रो काम लगाइ दिने बताएका थिए । त्यसका लागि अजयले योगेशसँग पैसा मागेका थिए । 

    images

    रकम मागेपछि योगेशले अजयलाई पटकपटक गरी १६ लाख दिएको बताए । “मैले दुई पटक गरेर अजयकै भाई रञ्जितको खातामा पैसा पठाइ दिएँ,” उनले भने, “सिटीजन्स र एनआईसी बैंकको खातामा मैले रकम पठाईदिएको थिए तर जापान लगेनन् । उनीहरु अहिले सम्पर्कविहीन छन्।” 

    विराटनगर महानगरपालिका–१९ की डाफूल राजवंशीले पनि जापान पाइने भन्दै ६ लाख रुपैयाँ बुझाइन्। पैसा बुझाएर पनि विदेश जान नपाएपछि आफू ठगिएको पत्तो पाइन्। 

    images

    अहिले उनी ठगीमा परेका अन्य व्यक्तिहरुसँगै न्यायका लागि प्रहरीकोमा पुगेकी छिन् । “मैले अयजकै भाई रञ्जित र बहिनी विद्याको खातामा पैसा पठाई दिएको हुँ तर अहिले अजय सम्पर्कमा छैनन्” उनले भनिन् । 

    मोरङको सुनवर्षी नगरपालिका–६ पटियापाडाका अजय राजवंशीले चितवनका राजेन्द्र अधिकारीसँग मिलेर विभिन्न व्यक्तिबाट तीन करोड भन्दा धेरै रकम असुल गरी फरार भएको पीडितहरुले बताएका छन् । पीडितहरुले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफूहरु संकटमा परेको भन्दै न्यायको गुहार मागेका छन् ।

    जापान लगिदिने भन्दै पूर्वका विभिन्न जिल्लाका ३७ जना व्यक्तिबाट तीन करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेका छन् । 

    जापानमा बस्दै आएका अजयले कटहरी गाउँपालिका, सुनवर्षी नगरपालिका, विराटनगर महानगरपालिका, सुनसरीको धरान उपमहागनरपालिकालगायत स्थानका युवायुवतीबाट रकम उठाएको पाइएको छ । 

    अजय र राजेन्द्रका नाममा झापा, मोरङ तथा सुनसरीका विभिन्न स्थानका व्यक्तिहरुले पटकपटक गरी तीन करोड रकम पठाएको पाइएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार घटनाबारे अनुसन्धान थालिएको र संलग्नको खोजी तीव्र पारिएको छ ।

    जापानमा बस्दै आएका अजयले त्यहिका वकिलमार्फत सबैलाई जापान आउने वातावरण बनाउने र केही समय पर्खन भनेका थिए । हामीसँग रकम उठाएपछि सम्पर्कविहीन बनेको पीडितहरुले बताएका छन् । आफूहरु ठगीमा परेको थाहा पाएपछि पीडितहरुले पुस २५ गते अजय र राजेन्द्रविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए । 

    विराटनगर–१९ का विक्रम राजवंशीले जापानको हिरोसिमा र टोकियोमा ग्रामेन्टमा काम लगाई दिने भन्दै रकम मागेको बताए । “दुई–दुई जनालाई सुपरभाईजरको काममा लगाईदिने भन्दै पैसा लिए” उनले भने, “जापान जानका लागि पासपोर्ट नहुनेहरुले तत्कालै काठमाडौ पुगेर बनाए । तत्कालै गाडीको लाइसेन्ससमेत लिए ।” 

    पीडितहरुलाई सुपरभाईजरको तलब मासिक ४ लाख र त्योभन्दा तलको पदमा १ लाख ८० हजार हुने आश्वासन दिएका थिए । यसमा बोनस १० देखि १५ लाख समेत प्राप्त हुने भन्दै अजयले पीडितहरुलाई प्रभावित गरेका थिए ।