शनिबार, भाद्र २७ गते २०८३
images

विद्यालय खोल्न हतार नगर्न आग्रह

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 336
    SHARES
  • विद्यालय खोल्न हतार नगर्न आग्रह

    भदौ २३ काठमाडौं । कोरोनाको जोखिमको विश्लेषणका आधारमा काठमाडौं र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ ।

    images

    काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय भएको थियो ।

    विद्यालय खोल्न सकिने स्थानका शिक्षक र कर्मचारीले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने लगायतका आधार बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउनअन्तर्गत विद्यालयलगायतका क्षेत्र खोल्न सकिने निर्णय यसअघि भइसकेकामा सम्बन्धित पालिकाले त्यसको ढाँचाबारे आवश्यक परामर्श गरी कार्ययोजना पेश गर्न भनिएको जानकारी दिइन् । जोखिम भएका स्थानमा अनिवार्यरूपमा विद्यालय खोल्नुपर्ने भन्ने नरहेको स्पष्ट पारिन् ।

    images

    हतार नगर्न अभिभावकको आग्रह

    राष्ट्रिय अभिभावक महासङ्घले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताए । भौतिकरूपमा विद्यालय बन्द हुँदा हाल सञ्चार तथा सूचना प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको छ ।