शनिबार, भाद्र २७ गते २०८३
images

दरसँगै सुरु हुँदै चार दिने तीज, विकृति बन्दै तीजको संस्कृति

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 523
    SHARES
  • दरसँगै सुरु हुँदै चार दिने तीज, विकृति बन्दै तीजको संस्कृति

    भदौ २३ काठमाडौं । हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदै छ ।

    images

    विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा भए पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाले सजगताका साथ तीज मनाउनुपर्ने अवस्था छ ।

    नीराहार व्रतका लागि दर

    images

    तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई बिहीबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद्हरुको मान्यता रहेको छ ।

    महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्म घरबाट कर्म घरमा गई बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

    विकृति बन्दै तीजको संस्कृति

    पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको पाइन्छ। यस वर्ष भने कोरोनाका कारण पहिल्यैदेखि दर खानेलगायत गतिविधि विगत वर्षमा भन्दा कम देखिएको छ ।

    यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् । एक महिनाअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीयरुपमा दर खाने दिनका लागि तोकिएको छ ।

    दरसँगै सुरु हुँदै चार दिने तीज

    आज बुधवार दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ २५ गते शुक्रवार, ऋषिपञ्चमी पर्व भदौ २६ गते शनिबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

    तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरी घाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

    पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको मान्यता छ ।

    हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलने त्रासले पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ । काठमाडौं उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

    कोरोनाको त्रासले तीजका व्रतालुले घरमै देवादिदेव महादेवको विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउँदै छन् । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइ रहेको सुन्न सकिन्छ । यस वर्ष पनि विगत वर्षमा जस्तै कोरोनाबाट बच्न भिडभाड नगरी घरघरमै परिवारका सदस्यबिच तीज पर्व मनाउनुपर्ने अवस्था दोहोरिएको छ ।