आइतबार, भाद्र २८ गते २०८३
images

सिआइबीले बुझायो स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 389
    SHARES
  • सिआइबीले बुझायो स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुई महिनाअघिको टी–२० क्रिकेट लिगमा भएको भनिएको स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

    images

    सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार १२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहित आफ्नो प्रतिवेदन बुझाइएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार उनीहरूमाथि स्वाभाविक नतिजालाई फेरबदल गर्न मद्दत गरेको, फिक्सिङमा मिलेमतो गरेको र गर्न दुरुत्साहन गरेको आरोप लगाइएको छ ।

    images

    दुई खेलाडीमाथि भने नतिजा फेरबदलमा मद्दत गरेको आरोप छ । प्रहरीका अनुसार व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी फिक्सिङमा संलग्न रहेको पाइएको छ ।

    यसअघि प्रहरीले सप्तरीको राजविराज घर भएका पूर्वक्रिकेटर महबुल आलम, बारा सिम्रौनगढका खेलाडी मोहमद आदिल आलम र नितेश गुप्तालाई पक्राउ गरिसकेको छ ।

    कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुस ९ देखि २७ गतेसम्म खेल भएको थियो । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना तथा भारतको सेभेन थ्री स्पोर्ट्स प्रालिको रणनीतिक तथा व्यावसायिक साझेदारीमा खेल खेलाइएको थियो ।

    मुख्यतः लिगको प्रतिस्पर्धामा आउने परिणामलाई प्रतिकूल हुने गरी बाजी जिताउने वा हराउने उद्देश्यले खेलको मिलेमतो गरेको पाइएकाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको कसुरमा तीन वर्षसम्म कैद र ५० हजार रुपैयासम्म जरिवानाको माग गरिएको सिआइबीले जनाएको छ ।