भदौ २५ काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ शुक्रवार बिहान बाँडफाँट भएको छ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आयोजित बाँडफाँट कार्यक्रममा योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर पाएका छन्। कम्पनीले कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो।
कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले आवेदन दिएका थिए। जसमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले बताएको छ।
कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू.४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको हो ।
आयोजना प्रभावित स्थानियसहित सर्वसाधारणमा रू.१२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको थियो ।
हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू.२८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गरेको हो । स्थानिय र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू.४० करोड पुग्नेछ ।
उक्त कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन शुुरु गरिसकेको छ ।
.jpg)


