राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ खेलाडी तथा टीम अफिसियलहरू लाई सम्मान गरेको छ । हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टीमका १८ जना खेलाडीलाई जनही १/१ लाख रुपैयाँ र ८ जना टीम अफिसिलयलहरूलाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गरिएको छ । नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरी विश्वकप छनोट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तर्राष्ट्रिय १ दिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा. बलराम पाठकले खेलाडी तथा टीम अफिसिलयहरूलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय रूपमा क्रिकेटले राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरवपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरेको बताए । क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय रूपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताए ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले भने, ‘देशको लागि खेल्ने मेरो सपना त वास्तवमा हामी सबैको सपना रहेछ, पूरा गर्न पाएकोमा खुशी लागेको छ ।’ कार्यक्रम मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतमले सञ्चालन गरेका थिए ।


