भदौ २९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्यका लागि योगदान पुर्याउन सबैलाई आग्रह गरेकी छिन् ।
नेपाल बाल सङ्गठनले राष्ट्रिय बाल दिवसका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले बालमैत्री समाज निर्माण गरी बालबालिकाको सर्वाङ्गीण विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले कोरोना महामारीका कारण उत्पन्न प्रतिकुल अवस्थामा पढ्ने, खेल्ने तथा नियमित खोप प्राप्त गर्ने जस्ता बालबालिकाका आधारभूत अधिकारहरू सुनिश्चित गर्न समेत सबैको सहकार्य आवश्यक रहेको बताइन् ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले नेपालको कूल जनसङ्ख्याको झण्डै ४१ प्रतिशत हिस्सा बालबालिकाको रहेको उल्लेख गर्दै उनीहरूको विकास र शिक्षाको अवसर सुनिश्चित गर्न नीति निर्माणका क्रममा विशेष ध्यान दिनुपर्ने बताइन् ।


