भदौ २९ उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड २६ लाख ५ हजार ५ सय राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा २५ लाख ११ हजार ५ सय बढी राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार नियम उल्लंघन गर्ने २० हजार ६ सय सवारी तथा चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरिएको हो । कारबाहीमा पर्नेमा सबै भन्दा बढी मोटरसाइकल चालक र त्यसपछि क्रमशः जीप, ट्रक तथा टिपर चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब निरीक्षक (सई) लिलाकुमार श्रेष्ठले बताए ।
ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबै भन्दा बढी चैत्र महिनामा २ हजार ३ सय सवारी कारबाहीमा परेका छन् । जसबाट १४ लाख ६ हजार पाँच सय राजश्व उठेको थियो । यसै गरी सबै भन्दा कम ज्येष्ठ महिनामा ३ सय सवारी कारबाहीमा परेको छ । त्यसबाट २ लाख ४ हजार राजस्व संकलन भएको थियो ।
७ हजार ९ सय ७० मोटरसाइकल चालक कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयसँग तथ्याङ्क छ । मोटरसाइकल चालक कारबाही बापत ५० लाख २५ हजार पाँच सय राजश्व उठेको छ । यस्तै ४ हजार ६ सय एक ट्रक तथा टिपर कारबाही बापत २८ लाख २४ हजार राजश्व संकलन भएको छ । ३ हजार ५ सय ७७ जीप कारबाही बापत २१ लाख ३३ हजार राजश्व उठेको छ ।
१ हजार ७ सय १२ ट्याक्टर कारबाही बापत १० लाख ६५ हजार रुपैयाँ राजश्व नेपाल सरकारको नाममा जम्मा भएको छ भने ५ सय ६१ बसलाई कारबाही बापत ३ लाख ४१ हजार पाँच सय राजश्व संकलन भएको छ । यस्तै २ हजार १ सय ४१ अटोबाट ११ लाख ९५ हजार पाँच सय राजश्व संकलन भएको छ । कोरोना भाइरसका कारणले लक्ष्य भन्दा कम राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
.jpg)


