हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशको अधिकांश भू-भागको अधिकतम् र न्यूनतम तापक्रम् बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विगत केही दिनदेखि देशका अधिकांश भू-भागको अधिकतम् तथा न्यूनतम् तापक्रम वृद्धि भइरहेको छ । देशको तराई भू-भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ ।
काठमाण्डौ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराई भू-भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लू (Heat wave)लाग्न सक्ने सम्भावना रहेको छ ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन र घरबाहिर ननिस्कन महाशाखाले आग्रह गरेको छ ।


