आइतबार, भाद्र २८ गते २०८३
images

पाथीभरामा १०० दिनमा ६६ लाख बढी भेटी संकलन

एक्सप्रेस पाना
जेठ २०, २०८० शनिबार
  • 483
    SHARES
  • पाथीभरामा १०० दिनमा ६६ लाख बढी भेटी संकलन

    पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो ।

    images

    समितिका अनुसार फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा १८ लाख ८५ हजार एक सय पाँच भेटी सङ्कलन भएको छ । त्यस्तै जेठमा हालसम्म रु पाँच लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ ।

    यसअघि मन्दिरमा हुने रकम समितिले पारदर्शीरुपमा सार्वजनिक नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए । रकम अपारदर्शी भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परिसकेको छ ।

    images

    नयाँ समिति आएपछि सङ्कलित रकम सार्वजनिक गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । ‘पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएकोे एक सय दिनमा रु ६६ लाख ६१ हजार तीन सय ७८ भेटी सङ्कलन भएको छ । यसले नयाँ समितिलाई काम गर्ने हौसला थपेको छ,’ उनले भने ।

    हाल मन्दिर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले लिएको छ । यसअघि मन्दिरमा सङ्कलित रकम पारदर्शी नभएको भन्दै आवाज उठेपछि गाउँपालिका र सर्वदलीय बैठकले मन्दिरको पुरानो समितिको हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्र पठाउने निर्णय गरेको छ ।