नेपालमा हाल पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै मधेशलगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
विगत केही दिनयता गर्मी अत्यधिक बढेको थियो भने तराईमा तातो हावा लु चलेको थियो । तर आइतबारयता भने तापक्रम घट्न थालेको छ । अहिले देखिएको मौसम बदली केही दिन टिक्न सक्ने मौसमविद् सुमनकुमार रेग्मीले बताए ।
उनले भने, ‘कोशी र बागमती प्रदेशमा क्लाउडी मौसम छ । यो केही दिन स्थिर रहने देखिन्छ ।’ बदली भएका कारण हिजो अस्तीको तुलनामा तापक्रम घटेको उनले बताए ।
सामान्यता नेपालमा मनसुन भित्रिने दिन १३ जुन हो । तर, योपटक १३ जुनमा मनसुन भित्रिने वा नभित्रिने यकिन भन्न नसकिने अवस्था रहेको मौसमविद् रेग्मी बताउँछन् ।
उनले अहिले बंगालको खाडीमा प्रणाली बनिरहे पनि त्यसको प्रभाव कति रहन्छ भन्ने यकिन नभएको बताए । योपटक सामान्य समयभन्दा मनसुन ढिलो भित्रिने सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएकाे छ ।


