आइतबार, भाद्र २८ गते २०८३
images

गोरखामा भेटियो लोपोउन्मुख तामे सालक

एक्सप्रेस पाना
आषाढ १, २०८० शुक्रबार
  • 469
    SHARES
  • गोरखामा भेटियो लोपोउन्मुख तामे सालक

    गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४, फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक आज बिहान फेला परेको छ ।

    images

    स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए । 

    फेला परेकोे उक्त सालकलाई डिभिजन वन कार्यालय गोरखाबाट गएको टोलीले तत्काल उद्धार गरेको उनले बताए ।

    images

    “आज बिहान फेला परेको सालक तामे सालक हो, यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उनले भने ।

    सालकको आहारा कमिला, धमिरा लगायतका कीरो भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने उनको भनाइ छ ।

    यसको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी  सिकार गर्ने गरेको पाइन्छ ।

    यस प्रकारको प्रजाति समुन्द्र सतहदेखि एक हजारदेखि २२ सय मिटरसम्मको उचाइमा पाइने वन अधिकृत गोेपालीले जानकारी दिए । 

    उद्धार गरिएकोे सालकलाई उसैको प्राकृतिक बासस्थान ठाडेखोलको जङ्गलमा लगेर छाडिएको उनले बताए ।

    विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने वन अधिकृत गोेपालीले भनाइ छ ।