बुधबार, भाद्र २४ गते २०८३
images

हरिहजुर कप्तानबाट बर्खास्त, आर्मीका ३ खेलाडीलाई लगायो भलिबल संघले प्रतिबन्ध

एक्सप्रेस पाना
आषाढ ३१, २०८० आइतबार
  • 349
    SHARES
  • हरिहजुर कप्तानबाट बर्खास्त, आर्मीका ३ खेलाडीलाई लगायो भलिबल संघले प्रतिबन्ध

    काठमाडौं । राष्ट्रिय भलिबल (संघ)ले हरिहजुर थापालाई राष्ट्रिय टोलीको कप्तानबाट बर्खास्त गरेको छ। 

    images

    कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै संघले कप्तान पदबाट हटाएको हो। 

    शनिबार सम्पन्न सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगका क्रममा गत सोमबार गण्डकी प्रदेशविरुद्ध उनले आफ्नो विभागीय टोली आर्मी क्लबका खेलाडीलाई सम्हाल्न नसकेपछि बर्खास्त गरिएको संघका महासचिव रोशन श्रेष्ठले बताए। 

    images

    “कप्तान भएपछि सम्झाइबुझाइ गर्नुपर्ने हो। तर, उहाँ आफैँ सम्हालिन सक्नुभएन। पाएको जिम्मेवारी पनि राम्रोसँग निर्वाह गर्न सक्नुभएन। उहाँ कर्तव्यविमुख भएपछि पदबाट बर्खास्त गरिएको हो”, महासचिव श्रेष्ठले भने।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा गण्डकीविरुद्ध तेस्रो सेटमा आर्मी २३-२४ को अवस्थामा थियो। रेफ्रीले चेकआउट हुँदा आर्मीलाई अंक दिएको भन्दै गण्डकीका खेलाडीले असन्तुष्ट जनाएका थिए।

    त्यसपछि दर्शकले बोतल प्रहार गरेपछि आर्मीका खेलाडी दर्शक बसेकै ठाउँ मुक्का प्रहार गर्न पुगेका थिए। उनले दर्शकमाथि कुर्सी प्रहार र तथानाम गालीसमेत गरेका थिए। 

    यस्तै, संघले उक्त घटनामा संलग्न नेपाली राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३/३ महिनाको प्रतिबन्ध लगाएको छ। 

    प्रतिबन्ध अवधिभर तीनै जनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैनन्। 

    भलिबल संघले घटनाको छानबिन गर्न महासचिव तथा प्रतियोगिता संयोजकसमेत रहेका श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए।

    यस्तै रेफ्री चित्र गुरुङ र अनिल रानालाई पनि निर्णायकको भूमिका निर्वाह गर्न नदिने श्रेष्ठले बताए।

  • सम्बन्धित विषय:

  • # पिएम कप भलिबल