काठमाडौँ । हारको संघारमा पुगेको स्थितिबाट खेलको अन्तिम ९ मिनेटको अन्तरमा ३ गोल गर्दै रोनाल्डो आवद्ध साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई ४-२ ले पराजित गर्दै लिगमा छनौट भएको छ।
प्लेअफमा अल नासर ८७औं मिनेटसम्म २-१ ले पछाडी थियो। तर, अन्तिम ९ मिनेटमा अल नासरले ३ गोल थप्दै यस सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो।
अल नासर पछिल्लो तीन वर्षमा पहिलो पटक एएफसी च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको हो।
अल नासरको जितमा एन्डरसन टालिस्काले दुई गोल गरे भने सुल्तान अल–घानाम र मार्सेलो ब्रोजोभिचले एक–एक गोल थपे । पराजित शबाब अल अहलीका लागि याह्या अल घासानीले दुई गोल गरेपनि टोलीलाई जित्सम्म पुर्याउन सकेनन्।
यस खेलमा क्रिस्टियानो रोनाल्डोले एक गोल असिस्ट गरेका थिए।
योसँगै एएफसी च्याम्पियन्स लिगको समीकरण पुरा भएको छ। एएफसी च्याम्पियन्स लिगमा एसियाका पूर्वी र पश्चिमी क्षेत्र गरी कुल ४० क्लबले खेल्दै छन्।
४० क्लबलाई विहिबार हुने ड्र मार्फत १० टिममा बिभाजन गरिने छ।
जसमा सबै समुहका समुह विजेता राउण्ड १६ मा पुग्ने छन् भने पूर्व र पश्चिमी क्षेत्रका तीन-तीन बेस्ट उपविजेता राउण्ड १६ मा पुग्ने छन्।


