तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ। पछिल्लो समय तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकको आकर्षण यसमा बढेको छ। त्यसकारण तनहुँ तरकारीमा आत्मनिर्भर मात्र होइन यहाँ उत्पादित तरकारी निर्यातसमेत हुन थालेको छ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा गत वर्ष ४१ हजार सात सय ८३ मेट्रिक टन तरकारी उत्पादन भएको छ त्यसमध्ये ३५ प्रतिशत तरकारी जिल्लाबाहिर निर्यात हुने गरेको ज्ञान केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “आलु, प्याज र गोलभेँडाबाहेक अरू तरकारीमा तनहुँ आत्मनिर्भर छ। जिल्लाभित्रै खपतका अलवा ३५ प्रतिशत तरकारी बाहिर जान्छ।” तिवारीका अनुसार यहाँ उत्पादित तरकारी गोरखा, लमजुङ, मनाङ, पोखरा हुँदै मुस्ताङसम्म जाने गरेको छ। सस्तो तरकारी भने बाहिरी जिल्लाबाट तनहुँ भित्रिने गरेको छ। तनहुँमा गोरखपुर, चितवन, नवलपुर, धादिङ, मकवानपुरबाट तरकारी आउने गर्दछ।
गत वर्ष जिल्लामा २३ हजार चार सय २७ मेट्रिक टन हिउँदे र १८ हजार तीन सय ५६ मेट्रिक टन वर्षे तरकारी उत्पादन भएको छ। जिल्लामा तरकारी खेतीको क्षेत्रफल बढेको छ। दुई हजार छ सय तीन हेक्टर क्षेत्रफलमा हिउँदे र एक हजार छ सय दश हेक्टर क्षेत्रफलमा वर्षे तरकारी खेती हुने गरेको छ। गत एक दशकसम्म जिल्लामा दुई हजार दुई सय ५५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको थियो।
ज्ञान केन्द्रले गत आर्थिक वर्ष २०७९/८० मा तरकारी खेती प्रवद्र्धनका लागि रु २४ लाख खर्च गरेको थियो। चालु आव २०८०/८१ मा रु ६० लाख बजेट विनियोजन गरिएको केन्द्र प्रमुख तिवारीले बताउनुभयो। उहाँले भन्नुभयो, “तरकारी खेतीमा आकर्षण बढेसँगै बजेट तीन गुणा वृद्धि भएको छ। कृषकलाई बीउसँगै आवश्यक सीपसमेत दिन्छौँ।”
तरकारी विकास कार्यक्रमअन्तर्गत गत वर्ष तीन सय ५० कृषकलाई सहयोग गरिएको थियो। त्यसकारण व्यावसायिक तरकारी खेतीमा कृषकहरुको आकर्षण बढेको र क्षेत्र विस्तार भएको तिवारीको भनाइ छ। चालु आवमा वर्षे खुर्सानी, गोलभेँडा, अकबरे खुर्सानी, काँक्रो, वर्षे उत्पादनमा जोड दिइने तिवारीले बताउनुभयो।
तरकारीखेतीतर्फ कृषकको आकर्षण बढे पनि प्राविधिक सेवा पर्याप्त हुन नसकेको आँबुखैरेनीका कृषक सोलबहादुर चितौरेले बताउनुभयो। उहाँले भन्नुभयो, “तरकारी खेतीमा विविध समस्या आइरहन्छ, त्यसतर्फ सम्बन्धित निकायले पहल गरिदिनुपर्छ।”
.jpg)


