दोलखाको भिमेश्वर नगरपालिका–९ झिँगानेमा रहेको कालिदेवी प्राथमिक विद्यालयमा विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या भएको छ।
विद्यालय भवन नहुँदा कक्षा पाँचसम्म पढाइ हुने यस विद्यालयमा ४० जना विद्यार्थी कष्ठकररुपमा अध्ययन गर्न बाध्य छन्। भूकम्पपछि विद्यालय भवन दाताले सामान्यजस्ताका टहरा निर्माण गरिदिएपनि पक्की भवन निमार्ण हुन सकेको छैन।
विद्यालय प्राङ्गणमा खेल मैदानसमेत छैन। विद्यार्थीहरु आधा घण्टाको दूरीमा रहेको मैदानमा खेल खेल्न जाने गरेको विद्यालयका प्रधानाध्यापक नारायण खड्काले बताउनुभयो । उहाँका अनुसार टहरामा घाम लागेको बेला अत्यधिक गर्मी हुने र पानी परेको समयमा आवाजले पढ्न नसकिने अवस्था छ। साथै हिउँ पर्ने समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ।
लामो समयदेखिको खानेपानीको समस्या गत आइतबार मात्रै समाधान भएको छ। स्कुल अफ डेमोक्रेसीका अध्यक्ष प्रभुराम श्रेष्ठले खानेपानीको पाइप र ट्याङकीसहित सुविधा उपलब्ध गराएपछि राहत मिलेको हो।


