आइतबार, कार्तिक १६ गते २०८३
images
images

चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा

एक्सप्रेस पाना
भाद्र २८, २०८० बिहीबार
  • 284
    SHARES
  • चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा

    भोजपुर । भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन्। भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ। यहाँ यसको अभाव भएको छ। सामुदायिक वनले भेडा चराउन नदिएपछि समस्या भएको किसान बताउँछन्। 

    images

    चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेडापालक कृषक गोविन्द बस्नेतले बताए। चरन क्षेत्रको अभावको कारण भेडा पाल्न सक्ने अवस्था नभएपछि व्यवसाय नै छाड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

    “चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको अवस्था छ”, किसान बस्नेतले भने, “भेडा पाल्न समस्या छ। सहजरुपमा चराउन सक्ने अवस्था छैन। सामुदायिक वनलाई शुल्क तिरेर चराउनु पर्छ। त्यही पनि सहजरुपमा चराउन सक्ने अवस्था छैन।”

    images

    बर्खाको समयमा माथिल्लो भेगमा गोठ लैजाने भएकाले केही सहज भए पनि हिउँदको समयमा भने धेरै समस्या हुने उनको भनाइ छ। लेकाली भेगमा गोठ लैजाँदा डाँडा पाखामा चराउन सहज नै भए पनि तल्लो भेगमा झारेपछि भेडा बचाउन नै कठिन हुने बस्नेतले बताए।

    “यो व्यवसायबाट आम्दानी त राम्रै हुन्छ”, उनले भने, “तर हाम्रो मुख्य समस्या नै चरन क्षेत्र बन्दै गएको छ। बर्खाको समयमा त जसो तसो लेकतिर गोठ लगेर पाल्छौँ। हिउँदको समयमा तल्लो भेगमा झार्नुपर्ने भएकाले चरन क्षेत्रको धेरै नै समस्या हुन्छ।”

    भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको उनले बताए। त्यस्तै भेडा, ऊन, घ्यु, मही, छुर्पी लगाएत विक्रीबाट मनग्य आम्दानी हुने भएपनि चरन क्षेत्रको कारण भेडा पाल्न नै चुनौती रहेको किसानहरुको भनाइ छ। ऊनबाट बन्ने राडी, पाखी, लुकुनी लगायत पनि किसानको आम्दानीको श्रोतको रुपमा रहेको छ।

    आम्दानी राम्रो हुने भएपनि भेडापालन व्यवसायमा चरन क्षेत्रसँगै अन्य धेरै समस्या रहेको भेडापालक किसान मिडु शेर्पाले बताए। सामुदायिक वनको कारण चरनको लागि समस्या हुने गरेको शेर्पाले जानकारी दिए। त्यस्तै बाघ,भालु तथा कुकुरले पनि भेडा मारी दिने समस्या बढी रहेको किसान शेर्पाले बताए। भेडामा देखिने विभिन्न रोगका कारण पनि समस्या हुने गरेको उनको भनाइ छ। भेडामा धक्ने, छेर्ने, ढाडिने, माटो खाने लगाएतका रोग मुख्य रुपमा देखिने गरेको उनको भनाइ छ।

    ‘‘विभिन्न समस्याका कारण भेडापालन व्यवसाय गर्न असहज बन्दै गएको अवस्था छ’’ किसान शेर्पाले भने,‘‘मुख्य समस्या भनेको चरन क्षेत्रको हो। वन्यजन्तुको आक्रमणसँगै भेडामा देखिने विभिन्न रोगले पनि हामीलाई सताएको अवस्था छ।’’ चरन क्षेत्रमा पर्ने सामुदायिक वनहरुले महङ्गो शुल्क लिने गरेको उहाँको भनाइ छ। यहाँ चराए बापत एक भेडीगोठले बार्षिक रु. एक हजारदेखि रु.पाँच हजारसम्म शुल्क तिर्नु पर्ने बाध्यता रहेको किसान शेर्पाले बताए।

    चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय गर्न समस्या रहेको किसान शेरबहादुर कठेतले बताए। विगतका वर्षको तुलनामा पछिल्लो समयमा चरन क्षेत्रको लागि धेरै नै समस्या हुने गरेको उनको भनाइ छ। चरन क्षेत्रको कारण धेरै किसान व्यवसायबाट पलाएन हुने अवस्था रहेको उहाँले बताउनुभयो। भेडालाई अरु पशुचौपाया जस्तो बाँधेर पाल्न सम्भव नरहेकोले चरन क्षेत्रको अतिनै आवश्यक हुने उनको भनाइ।

    “हामी भेडापालक कृषकलाई मुख्य चुनौती चरन क्षेत्र बन्दै गएको छ”, किसान कठेतले भने, “आठ÷दश वर्षअघिसम्म खास चरन क्षेत्रको अभाव थिएन। सामुदायिक वन क्षेत्रमा पनि सहजरुपमा चरिचरन गराउन पाइन्थ्यो। तर अहिले त्यस्तो अवस्था छैन। भेडालाई अन्य पशुलाई जस्तो बाधेर पाल्न सम्भव हुदैन।”

    चरन क्षेत्रको अभावले कतिपयले व्यावसाय नै छाड्न बाध्य भएको उहाँको भनाइ छ। चरन क्षेत्रको समस्या कारण यो व्यवसाय सङ्कटमा पर्ने अवस्था आएको किसानले बताउने गरेका छन्। राज्यले भेडापालन किसानलाई सहज चरिचरनको लागि पहल गर्नुपर्ने किसान कठेतको भनाइ छ। “यो व्यवसाय नयाँ पुस्ताले गर्न चाहदैनन्”, उनले भने, “हामीले पुर्खौली पेसालाई निरन्तरता दिँदै आएका छौँ। चरन क्षेत्रलगायतका समस्याका कारण धेरैले व्यवसाय छाड्दै गएको अवस्था छ।”

    मैयुङडाँडा क्षेत्रमा २८ बढी व्यावसायिक भेडीगोठ रहेको किसान कठेतको भनाइ छ। पराम्परागत पेसामा आबद्ध किसानलाई राज्यले ध्यान दिनुपर्ने किसान कठेतले बताए। किसानको समस्यालाई पहिचान गरेर यस्ता खालका लोपोन्मुख पेसालाई संरक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानको माग छ। “भेडापालन हाम्रो परम्परागत पुर्खौली पेसा हो”, किसान कठेतले भने, “यो पेसाको संरक्षण गर्न आवश्यक छ। दुःख बढी हुने भएकाले धेरैले व्यवसाय छाड्दै गएका छन्।

    जसको कारण यो व्यवसाय लोप हुने अवस्थामा पुगेको छ। धेरै दुःख कष्टका साथ पुर्खौली पेसालाई बचाएका छौँ। राज्यले हामीले गरेको दुःखलाई देख्नुपर्छ।”  

    राज्यले भेडापालक कृषकलाई आवश्यक प्रोत्साहनका कार्यक्रमसँगै निःशुल्क पशु बीमा गरिदिए सहज हुने उनीहरुको भनाइ छ। राज्यको तर्फबाट आवश्यक सहयोग भए पेसालाई जीवन्त राख्न केही टेवा मिल्ने भेडापालक किसानले बताउने गरेका छन्।