असोज ४ काठमाडौं । एमालेको प्रस्तावित विधानले पार्टीको निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने व्यवस्था गरेको छ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई भविष्यमा पार्टी अध्यक्षभन्दा माथिल्लो वरियतामा राख्न मिल्ने आशयको प्रावधान ल्याइएको हो ।
वरिष्ठ नेताको वरीयता अध्यक्षपछिको दोस्रो रहने भनिएकामा निवर्तमान अध्यक्षलाई वर्तमान अध्यक्षभन्दा माथिल्लो वरियतामा समेत राख्न सकिने छिद्र खोलिएको छ ।
संशोधित विधानको धारा १५ को उपधारा ३ मा भनिएको छ,‘पार्टीका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुनेछन् ।’ तर, सोही उपधारामा अगाडि थपिएको छ, ‘महाधिवेशनले अन्यथा निर्धारण गरेकामा बाहेक निजको मर्यादाक्रम अध्यक्षपछि रहनेछ ।’
विधानको यो प्रावधानअनुसार भोलि महाधिवेशनमा ओलीबाहेक अरू कुनै नेता अध्यक्ष भएको खण्डमा वरिष्ठ नेता ओली दोस्रो वरियतामा नबसी अध्यक्षभन्दा माथिको पहिलो वरियतामा बस्न पनि सक्ने छन् र कार्यकारी अध्यक्ष चाहिँ दोस्रो वरियतामा बस्नुपर्ने हुन सक्छ । तथापि यसलाई महाधिवेशनले पारित गर्नुपर्ने छ ।
नेकपा एमालेमा अहिले कोही पनि निवर्तमान अध्यक्षहरू छैनन् । पार्टीका पूर्वप्रमुख मध्ये सीपी मैनाली एमालेमा छैनन् । मनमोहन अधिकारीको मृत्यु भइसकेको छ । बाँकी रहेका झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी छाडिसकेका छन् ।
.jpg)


