काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ। आइतबार दिउँसो करिब १ बजे ओपिडीमा आएका एक बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेका हुन्।
कुटपिट भएपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सकले सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन्। केएमसीमा चिकित्सकमाथि कुटपिट भएपछि अहिले अस्पताल परिसरमा उनीहरुले नाराबाजी गरिरहेका छन्।
प्रहरीले घटनामा संलग्न भएको भन्दै दुई जनालाई पक्राउ गरेको छ।
पछिल्लो समयमा विभिन्न अस्पतालमा चिकित्सक कुटिने घटना बढिरहेका छन्। यसअघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पतालमा चिकित्सक कुटिएपछि देशभरका स्वास्थ्यकर्मी आन्दोलित भएका थिए।
चिकित्सकहरूमाथि कुटपिटपछि सरकारले नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकसँग कार्यस्थलको सुरक्षाका लागि शनिबार मात्र सहमति गरेकोमा आज फेरी यस्तै घटना दोहोरिएको छ।


