असोज ५ काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताएका छन् ।
काँग्रेसद्वारा आयोजित काठमाडौं महानगरपालिका–४ र ५ द्वारा आयोजित छुट्टाछुट्टै वडा अधिवेशनको आज उद्घाटन समारोहमा सहमहामन्त्री महतले काँग्रेसको मुख्य लक्ष्य नै आगामी आम निर्वाचन जित्ने रहेको स्पष्ट पारे । निर्वाचन जित्ने ढङ्गले सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उनले त्यसमा क्रियाशील सदस्यको अहम भूमिका रहने बताए । पार्टीको आदर्श, सिद्धान्त, नीति र अनुशासनमा रही निरन्तर क्रियाशील रहन उनले सबैमा आग्रह समेत गरे ।
“पार्टीमा समय दिन सक्ने, सङ्गठन विस्तार गर्न सक्ने र मतदातालाई आकर्षित गर्न सक्ने कार्यकर्ताको खाँचो छ, सक्रिय सदस्य बन्नुभएका पार्टी कार्यकर्तालाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गरी पार्टीलाई जनतासँग जोड्ने प्रयासमा लाग्नुस्”, नेता महतले भने । काँग्रेसको नेतृत्वमा बनेको वर्तमान संविधानको भावना र मर्मअनुरूप एक तिहाइ स्थानमा महिला निर्वाचित गर्ने कामको थालनी भएको उनको भनाइ छ ।
दुई तिहाइको सरकार राज्य सञ्चालनमा असफल भएपछि अप्ठ्यारो अवस्थामा काँग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको स्पष्ट पार्दै नेता महतले प्रतिकूलतासँग जुध्दै सरकार सम्पूर्ण नागरिकलाई खोप दिएर सुरक्षाको प्रत्याभूति दिलाउन लागि परेको समेत बताए । ।
.jpg)


