सोमबार, भाद्र २९ गते २०८३
images

मनास्लु क्षेत्र विदेशी पर्यटकको रोजाइमा

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 205
    SHARES
  • मनास्लु क्षेत्र विदेशी पर्यटकको रोजाइमा

    गोरखा । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ।

    images

    गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ। चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु क्षेत्रमा प्राकृतिक सुन्दरता मात्र नभएर सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको पर्यटकीय क्षेत्र हो।

    मनास्लु क्षेत्रमा भ्रमणका लागि पुगेका विदेशी पर्यटकबाट करिब रु दुई करोड २८ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७९-८० मा मात्र मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) ले मनास्लु क्षेत्र घुम्न गएका पर्यटकबाट एक वर्षमा रु दुई करोड २७ लाख ९७ हजार राजस्व सङ्कलन गरेको हो।

    images

    मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयले मनास्लु घुम्न जाने सार्क राष्ट्रका पर्यटक र अन्य विदेशी पर्यटकबाट प्रवेश शुल्क लिने गर्दै आएको छ। “कार्यालयले सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार शुल्क उठाउने गरेको छ”, कार्यालयका प्रमुख सन्तोष शेरचनले भने, “त्यसबाहेक अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार लिने गरिएको छ।”

    गत आर्थिक वर्षमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रबाट घुम्नका लागि पुगेका एक सय ५९ पर्यटकबाट कूल रु एक लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो। त्यस्तै अन्य विदेशी पर्यटकबाट रु दुई करोड २६ लाख ३८ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। चालु आवमा पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएकाले राजस्व संकलनमा बृद्धि हुने अनुमान गरिएको प्रमुख शेरचनले जानकारी दिए।

    चालु आर्थिक बर्षको साउनदेखि असोजसम्म मात्र मनास्लु क्षेत्र पुगेका पर्यटकहरुबाट प्रवेश शुल्क वापत ८५ लाख ९ हजार रुपैया राजस्व संकलन भइसकेको छ। साउनदेखि असोजसम्मको अवधीमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रका ९७ जना र सार्क राष्ट्रबाहेकका अन्य राष्ट्रबाट दुई हजार आठ सय चार जना गरी कूल दुई हजार नौ सय तीन जना पर्यटक त्यहाँ पुगेका छन्।