आइतबार, भाद्र २८ गते २०८३
images

नार्क पुनर्संरचना गर्न सुझाव दिने उपसमितिले मन्त्री भुसालसमक्ष बुझायो प्रतिवेदन

एक्सप्रेस पाना
मंसिर १८, २०८० सोमबार
  • 319
    SHARES
  • नार्क पुनर्संरचना गर्न सुझाव दिने उपसमितिले मन्त्री भुसालसमक्ष  बुझायो प्रतिवेदन

    काठमाडौँ, मंसिर १८ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को पुनर्संरचना गर्ने बिषयमा गठित सुझाव उपसमितिले तयार गरेको प्रतिवेदन कृषि तथा पशुपञ्छी विकास मन्त्री डा.बेदुराम भुसाललाई बुझाएको छ। 

    images

    बुझाइएको प्रतिवेदनमा कृषि अनुसन्धान सेवा, मानित विश्वविद्यालय, कृषि अनुसन्धान सचिवको व्यवस्था गर्नुपर्ने लगायतका बिषयहरु समेटिएका छन्। 

    प्रतिवेदन बुझ्दै मन्त्री भुसालले नार्कलाई नेपालको कृषि अनुसन्धान प्रणालीको नेतृत्वदायी संस्थाको रुपमा विकास गर्न प्रतिवेदनमा दिइएका सुझावहरुको अध्ययन गरी कार्यान्वयन गर्ने प्रबिद्धता व्यक्त गरे। 

    images

    उपसमितिका सदस्य रहेका प्रा.डा.दुर्गामणि गौतमले समितिलाई दिइएको समयमा केही समय थपेर विस्तृत र गहन छलफल तथा अध्ययनबाट यो प्रतिवेदन तयार गरिएको बताए । उनले यो प्रतिवेदनमा नार्कमा काम गर्ने कर्मचारीहरुको भावनालाई पूर्णतया आत्मसात गरिएको र प्रतिवेदन कार्यान्वयन भएमा नार्कले अहिले भोगिरहेका प्रायः समस्याहरुको समाधान हुने बताए।

    No description available.

    सरकारको कृषि विकासको नीतिमा कृषि अनुसन्धानलाई उपेक्षा गरिएको कारणले सिर्जित यावत समस्याहरुको समाधान यो प्रतिवेदन मार्फत् गर्न खोजिएको उनले बताए। यसबाट कर्मचारी प्रशासन, कर्मचारीहरुको नियुक्ति, सरुवा बढुवा, बृत्ति बिकास लगायतका समस्याहरु समाधान हुने विश्वास पनि उनले व्यक्त गरेका छन्। 

    गौतमले नार्कमा विषय बिशेषज्ञको स्थायित्व, बिषयगत अनुसन्धान केन्द्रहरुको विकेन्द्रीकरण, कार्यकारी निर्देशकलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण र विश्वविद्यालयसंग नार्कको समन्वयमा ध्यान दिनुपर्ने कुरा बताए। 

    नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले प्रतिवेदनमा कार्यान्वयनको शिलसिलामा नार्कको कार्यकारी निर्देशकलाई कृषि मन्त्रालयको अनुसन्धान सचिव स्वतः हुने व्यवस्था गर्नुपर्ने बताए। नेपाल सरकारले निजामती कर्मचारीहरुलाई तोकेका सबै प्रकारका सेवासुविधाहरुको सुनिश्चितता पनि यस प्रतिवेदनको कार्यान्वयन पछि हुने उनले बताए । नार्कमा अध्ययन अध्यापन र नार्कका केही अनुसन्धान केन्द्रहरुलाई स्थानीय सरकारमा काम गर्ने प्राविधिकहरुका लागि तालीम केन्द्रको रुपमा विकास गनुपर्ने खाँचो औंल्याए।

    राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले नार्कलाई यसको उदेश्य अनुरुप नियमनकारी एवं समन्वयकारी निकायको रुपमा अनुसन्धान, प्रसार र शिक्षालाई प्रभावकारी ढंगले सञ्चालन गर्न सक्ने मोडेल तयार गर्न लामो समयदेखि प्रयास भइरहेको र अहिलेको प्रतिवेदनलाई कार्यान्वयन गरेमा यसले त्यो उद्देश्य पूरा गर्न सक्षम हुने बताए। 

    नार्कको पुर्नसंरचनाका लागि गठन भएको सुझाव उपसमितिको संयोजकमा नार्कका पूर्व कार्यकारी निर्देशक डा.टेकबहादुर गुरुङ, सदस्यहरुमा प्रा.डा. दुर्गामणि गौतम, कृषि मन्त्रालयका सहसचिव शबनम सिवाकोटी, नार्कका पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा.दोजराज खनाल र नार्कका प्रशासन निर्देशक नविनप्रकाश पौडेल रहेका थिए।