काठमाडौं, मंसिर २६ । साताको तेस्रो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ।
यस दिन बजार ३६.८६ अंकले बढेर १९८५ को विन्दुमा कायम हुन पुगेको छ। कारोबार रकम पनि झण्डै ४ अर्ब रुपैयाँ पुगेको छ।
आज २१४ कम्पनीको शेयरमूल्य बढ्दा २४ कम्पनीका लगानीकर्ताले गुमाए। चार कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो। ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ।
बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य २६९.८० रुपैयाँले बढ्दै प्रतिकित्ता २९६८.४० रुपैयाँ पुगेको छ। धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल एण्ड आयल कम्पनीको शेयरमूल्य पनि १० प्रतिशत बढेको छ।
आज बजारमा सनराइज ब्लुचिप फण्ड, सीवाइसी लघुवित्त र छिमेक लघुवित्तका शेयरधनीले प्रतिकित्ता शेयरमा क्रमशः ५९, १३ र ३६ रुपैयाँ गुमाएका छन्। सबैभन्दा बढी शिवम् सिमेन्टको १८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सोनापुर मिनरलको सबैभन्दा धेरै ४ लाख २९ हजार ८२७ कित्ता शेयर किनबेच भयो।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेपछि कारोबारको पहिलो दिन आइतबार १११ अंकले बढेको नेप्सेमा सोमबार भने २० अंकले घटेको थियो।
.jpg)


