आइतबार, कार्तिक १६ गते २०८३
images
images

मेवा बेचेर मासिक डेढ लाखआम्दानी

एक्सप्रेस पाना
पौष ६, २०८० शुक्रबार
  • 302
    SHARES
  • मेवा बेचेर मासिक डेढ लाखआम्दानी

    मन्थली (रामेछाप), पुस ६ । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्नुहुन्छ। 

    images

    अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताउनुभयो। रामेछाप नगरपालिका-८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उहाँले बताउनुभयो। सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने गरेको उहाँले जानकारी दिनुभयो।  

    आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाउनुभएको छ। उहाँका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ। हरियाली समृद्ध कृषक समूहको नामबाट उहँले दुई वर्षअघिदेखि सुरु गर्नुभएको मेवाखेतीबाट लाखौँ आम्दानी गर्न लाग्नुभएको हो। 

    images

    कृषक आचार्यले भन्नुभयो, “पाँच किलोको एउटै मेवा फल्ने र एउटा बोटमा एक सय ५० केजीसम्म फल्ने गरेको छ। यसको होलसेल मूल्यमा रू एक सय २० प्रतिकिलो बिक्री हुने गरेको छ।” एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो।  
     
    बढ्दो वैदेशिक रोजगारीमा जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भनेर सन्देश दिन आफूले मेवा खेती गरेको आचार्यको भनाइ थियो। उहाँले भन्नुभयो, “अरु रोजगारीका लागि विदेश जान्छन्। म चाहिँ जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर कृषिकर्ममा लागेँ। काम गर्दा शरीरमा रोग पनि नलाग्ने र आफूले गरेको मेहनतको फल चाँडै प्राप्त हुने भएकाले आफू यस प्रकारका फलफूल खेतीतर्फ लागेको हुँ।”

    आफूजस्ता कृषकलाई राज्यले पनि विशेष सहयोग तथा अनुदान दिनुपर्नेमा आचार्यले जोड दिनुभयो। नमुनाका रुपमा युवालाई यस्ता फार्मको अवलोकन गराएर आफ्ना अनुभवन साटासाट गर्न सकिने उहाँले बताउनुभयो।