आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्र बैंकले लिएको मर्जर तथा एक्विजिशनको नीति र ग्लोबल आइएमई बैंकले अपनाएको बाटो

एक्सप्रेस पाना
पौष १७, २०८० मंगलबार
  • 518
    SHARES
  • राष्ट्र बैंकले लिएको मर्जर तथा एक्विजिशनको नीति र ग्लोबल आइएमई बैंकले अपनाएको बाटो

    वि.स २०६९ मा बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०० पुगेको थियो। जसमध्ये ३२ वटा कमर्सियल बैंक, ८८ वटा विकास बैंक, ७७ वटा फाइनान्स कम्पनी र २३ वटा लघुवित्त कम्पनी पर्दछन्। 

    images

    नेपालको अर्थतन्त्रको आकार हेर्ने हो भने, बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै भएको मानिन्छ। यस कारण बैंक तथा वित्तीय संस्थाहरुबीच अस्वस्थ प्रतिस्पर्धा चल्न थाल्यो। निक्षेप संकलन र ऋण प्रवाहमा अस्वस्थ प्रतिस्पर्धा चल्दा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्नुका साथै प्रगती विवरणमा आच आयो। ततपश्चात नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मजबुत बनाउन र वित्तीय बजारमा अस्वास्थ प्रतिस्पर्धा हुन् नदिन मर्जर तथा (एक्विजिशन)को नीति अपनायो। मर्जर तथा एक्विजिशको मूल उदेश्य खर्च न्युनिकरण, मुनाफा वृद्धि, प्रतिस्पर्धा गर्न अब्बल र प्रभावकारी व्यवस्थापन गर्नु हो।

    नेपालको बैंकिङ्ग क्षेत्र नियमले बाधिएको र धेरै सुपरिवेक्षण हुने भएता पनि चुस्त र प्रभावकारी हुन सकेको थिएन। धेरै बैंक तथा वित्तीय संस्थाहरु हुँदा वित्तीय बजारमा अस्वस्थ प्रतिस्पर्धा चल्दै आएको थियो। त्यसै गरी, निक्षेपको अभाव हुँदा बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजदर बढाउने होडबाजी नै चल्ने गरेको थियो। यसले गर्दा ऋणिहरुले महङ्गो ब्याजमा ऋण लिनु पर्ने वाध्यता थियो। थोरै पूँजीको धेरै बैंक तथा वित्तीय संस्था हुँदा ठूला योजनालाई ऋण चाहिएमा धेरै बैंक तथा वित्तीय संस्थाहरु मिलेर मात्र ऋण दिन सक्ने अवस्था थियो। धेरै संस्था हुँदा धेरै सन्चालन खर्च हुनुका साथसाथै व्यवस्थापकिय क्षमतामा चुस्तता देखिएको थिएन।

    images

    वि.स.२०७३ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पूँजी दुई बर्ष भित्र ४ गुणाले बढाएर ८ अर्ब पुर्याउन निर्देशन दिएको थियो। मर्जर र एक्विजिशनलाई प्रोत्साहन दिन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विभिन्न सहुलियत दिने निर्णय गर्याे। राष्ट्र बैंकको निरन्तर प्रयासले मर्जरको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुको संख्या घट्न गएको छ। यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरु थप मजबुद र जवाफदेही भएका छन्। मर्जर पश्चात २८ वटा कमर्सियल बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र ६६ वटा लघुवितृ कम्पनी छन्। मर्जर पश्चात राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाहरुको निगरानी गर्न सहज भएको छ। 

    बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटेसँगै अस्वस्थ प्रतिस्पर्धा  न्युनिकरण भएको छ। यसका साथसाथै मर्जरले बैंक तथा वित्तीय संस्थाहरुको पूँजी बढ्न गई ठूला योजनालाई ऋण प्रवाह गर्न सहज भएको छ। राष्ट्र बैंकले अपनाएको नीति बैंकहरुले कार्यन्यन गर्दै गएका छन्। त्यस मध्ये ग्लोबल आइएमई बैंकले सुरुदेखि नै मर्जर र प्राप्तिलाई प्राथामिकतामा राख्दै आएको छ। यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो । बैंकले उक्त समयमा आइएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई मर्ज गरेको थियो। यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो। उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो। तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार भएको थियो। त्यसपछि सोसल डेभलपमेन्ट बैंकलाई गाभेको बैंकले यतिमै सीमित रहेन। सोही समयमा गुल्मी विकास बैंक पनि गाभियो। त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेर सन् २०७३ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढायो। ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए। हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकसँग गाभियो। त्यसपछि अर्कोे वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो।

    नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ। जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए। त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेपछि नेपालकै नम्बर वान बैंक बनेको थियो। मर्जरलाई नै सफल रुपमा व्यवस्थापन गरेका कारण आज अब्बल बैंकका रुपमा ग्लोबल आइएमई बैंक चिनिन थालेको हो। यस कारण पनि ग्लोबल आइएमई बैंकलाई मर्जर नीतिमा सफल र रोल मोडल बैंकको रुपमा मान्न सकिन्छ। 

    मर्जर तथा एक्विजिशन बैंक तथा वित्तीय क्षेत्रमा देखा परेको समस्याको समाधान गर्ने नीति भएता पनि यसका धेरै चुनौतिहरु पनि छन्। बैंक तथा वित्तीय संस्थाको मुख्य चुनौति भनेको एकले अर्को मिल्दो जुल्दो संस्था भेट्नु हो। एक अर्काको उदेश्य मिल्दो जुल्दो नहुँदा भविष्यमा धेरै समस्या सामना गर्नु पर्ने हुन्छ। अर्को समस्या भनेको श्वाप रेसियोको समस्या हो। एकले अर्कोलाई गाभ्दा कति बराबर सेयरमा गाभ्ने भन्ने मुख्य चुनौति हुन्छ। त्यसै गरि मर्जर तथा एक्विजिशन गर्दा त्यसको असर कर्मचारी, ग्राहकवर्ग, लगानीकर्ता र  संस्थासँग जोडिएका संस्थाहरुमा पर्न जान्छ। 

    कर्मचारी ब्यवस्थापन एउटा मुख्य चुनौतिको रुपमा देखा पर्छ। कर्मचारी एउटा संस्थाको अभिन्न अंगको रुपमा रहेको हुन्छ। एउटा संस्थाको काम गर्ने शैली र नीति अर्कोको भन्दा फरक हुन्छ। एउटा संस्था अर्को संस्थासँग गाभिदा कर्मचारीहरुले फरक नीति र अर्कै किसिमको काम गर्ने शैलीको सामना गर्नु पर्ने हुन्छ। यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले केहि समय कर्मचारीहरुलाई तालिम दिनु पर्ने हुन्छ। र, यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुको नियमित काममा बाधा पुग्न जान्छ। गाभिनु अघिका कर्मचारी गाभिएपछि कसले कुन भुमिका खेल्ने भन्ने अन्योलता रहन्छ र आ आफ्नो अधिकार क्षेत्र बाडिँन जान्छ। यति धेरै चुनौतिका बाबजुत पनि ग्लोबल आइएमई बैंकले पूँजी वृद्धिको लागि राष्ट्र बैंकले अपनाएको मर्जर तथा एक्विजिशनको बाटो रोज्दै आएको छ। यति धेरै बैंक तथा वित्तीय संस्थासँग ग्लोबल आइएमई बैंकले मर्जर तथा एक्विजिशन गर्दै एउटा उदाहरणीय बैंकको रुपमा चिनिन सफल भएको छ।

    मर्जरले ग्लोबल आईएमई बैंकको ऋण र निक्षेप बढ्नुका साथसाथै नाफामा पनि उल्लेख्य वृद्धि भएको छ। मर्जरले ग्लोबल आइएमई बैंकको जोखिम भारबहन गर्ने क्षमतामा वुद्धि हुन गई एक मजबुद र अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको छ। 

  • सम्बन्धित विषय:

  • # IMEPAY
  • # IMELIFE
  • # ग्लोबल आइएमई बैंक