आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेसले हिमाली जिल्लाकाे अधिवेशन दशैं अघिनै सक्ने

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 305
    SHARES
  • कांग्रेसले हिमाली जिल्लाकाे अधिवेशन दशैं अघिनै सक्ने

    असोज ८ काठमाडौं । कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत हिमाली जिल्लाहरुमा दशैँ अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले हिमाली जिल्लामा अहिले सार्वजनिक भएको कार्यतालिकाअनुसार दशैँ अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लामा भने पालिका तहसम्म मात्रै गर्ने निर्णय गरेको हो ।

    images

    अहिले वडा अधिवेशन सकिएका सबै जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ । ‘हिमाली जिल्लामा दशैँ अगाडि जिल्ला तहसम्मकै अधिवेशन हुन्छ । त्यसबाहेकका जिल्लामा पनि ९ असोजमै पालिका तहको अधिवेशन हुन्छ,’ बैठकपछि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले भने, ‘पहाड र तराईका जिल्लामा भने दशैँ अघिसम्म सबै पालिकाको अधिवेशन पूरा गर्ने लक्ष्य निर्धारण भएको छ ।’

    कांग्रेसले ९ असोजमा पालिका तह, १२ असोजमा प्रदेश सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ । अहिलेसम्म ६४ जिल्लाको वडा अधिवेशन भइसकेको छ ।

    images

    दशैँपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले पनि ती जिल्लामा दशैँ अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको यादवले बताए । उनका अनुसार कुन कुन जिल्लामा देशैँ अगावै जिल्ला तहसम्मको अधिवेसन सम्पन्न गर्ने भन्नेबारेमा समितिले पछि जिल्लाको नामावली सार्वजनिक गर्नेछ । 

    सरकारी अनुसूचीअनुसार ताप्लेजुङ, संङखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ,  दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम ९पूर्व० र म्याग्दी गरी २१ जिल्लाहरु हिमाली जिल्ला हुन् । तर, डोल्पा र रसुवामा भने क्रियाशील सदस्यताकै टुंगो लागेको छैन । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सबै वडाको अधिवेशन पूरा गरेर ७५३ वटै पालिकाको अधिवेशन एकैदिन गर्नुपर्ने माग राख्दै आएको थियो ।