काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताएका छन् ।
शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले भने, “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।”
सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको उनको भनाई छ ।
प्रधानमन्त्री दाहालले नवनिर्मित भवनबाट बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा विस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने र अस्पतालले दिने सेवाको मात्रा र गुण दुबैमा गुणात्मक सुधार हुनेकुरामा विश्वास व्यक्त गरे ।
भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको जनाउँदै उनले यसका निम्ति भविष्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने धारणा राखे ।


