काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संसद बैठक जनताको समस्याहरूको समाधान नगर्ने र कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले जनताको समस्याहरूको ठोस समाधान गर्ने सरकारको जवाफ नआएसम्म कर्मकाण्डको लागि मात्रै संसद चलाइराख्नुको कुनै औचित्य नभएको बताएका हुन् ।
उनले मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरूको समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्ने भन्दै सरकार र राजनीतिक दलको काम के हो ? भनी प्रश्न समेत गरे ।
उनले भने – ‘मेची महाकाली दुई तर्फबाट मिटरब्याज पीडितहरू घाइते अशक्त अवस्थामा आइपुगेका छन् काठमाडौँ । सरकारले समस्या सम्बोधन गर्नुको बदला तिम्रो लागि ऐन बनाइदिएको छ, जाऊँ मुद्दा हाल भनिराखेको छ । अर्कोतर्फ सहकारी पीडितहरू लामो समयदेखि आन्दोलनमा छन् । लघुवित्तहरूको समस्या यहीँ संसद भवनसम्म आइपुग्यो । दुग्ध उत्पादक कृषकहरू सडकमै छन् । समस्या कहाँ छैन ? संसदमा हामीले आवाज उठाएर मात्रै बस्ने, कुरा गरेर मात्रै बस्ने यसको अर्थ के हुन्छ , जनता आफैँ सडकमा आउनुपर्ने रु पीडित आफैँले न्यायका लागि आत्मदाह गर्नुपर्ने ?अनि सरकारको काम के हो ? हामी राजनीतिक दलहरूको काम के हो ?म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु, सरकारले यी विषयहरूमा ठोस जवाफ नदिएसम्म, सरकारको उपस्थिति संसदमा नभएसम्म संसद अगाडी बढाइराख्नुको कुनै औचित्य छैन । केबल कर्मकाण्डको लागि मात्रै यो संसद चलाइराख्नु र जनताले रगत, पसिना बगाएर तिरेको तिरोमाथि रमाइलो गरेर बस्नुको कुनै औचित्य छैन । ठोस जवाफ नआएसम्म संसद अगाडी बढ्दैन ।’
सरकारले समसामयिक विषयहरूको सबैको जवाफ दिनुपर्ने बताए ।
.jpg)


