काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णु पौडेलले एमाले–माओवादीको सहयात्रा प्रतिनिधि सभाको बाँकी कार्यकाल पूरै अगाडि जाने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जनता र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर, विगतका अनुभवबाट शिक्षा लिएर यो गठबन्धन बनेको भन्दै विगतको गठबन्धन जसरी टुट्छ भनेर नसोच्न कांग्रेसलाई आग्रह गरेका हुन ।
‘अहिले सुरु भएको नयाँ सहयात्रा यसले प्रतिनिधि सभाको कार्यकाल पूरा गर्नेछ । यो कुनै स्वार्थको लेनदेनमा आधारित सहयात्रा होईन । यो कुनै अवसरका निम्ति गरेको सहयात्रा होईन । जनताका र राष्ट्रका आवश्यकतालाई केन्द्रमा राखेर तिनलाई समाधान गर्ने उद्देश्यकका साथ सुरु भएको सहयात्रा हो ।’ उनले भने, ‘विगतका अनुभवहरुबाट शिक्षा लिएर आरम्भ गरिएको सहयात्रा हो । त्यसकारण यो कुनै दुर्घटनामा पर्छ कि भनेर आशंका पनि नगरे हुन्छ । दुर्घटनामा परोस् भन्ने अपेक्षा नगरे हुन्छ । यो सहयात्राले बाँकी कार्यकालको सहयात्रा पूरा गर्नेछ ।’


